रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङबाट दुई जनाको शव निकालिएको छ।
सुरूङमा खोजी र उद्धारमा खटिएको नेपाली सेनाको टोलीले बिहीबार दुई जनाको शव निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिए।
बुधबार हाइड्रो-मेकानिकल इन्जिनियरसहित ७–८ जनाको टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र पसेर करिब १५० मिटर माथिसम्म पुगेको थियो।
सोही बाटोबाट आज सेनाले शव निकालेको हो।
यसअघि सरकारी उद्धार टोली सुरूङको मुख्य बाटोबाट भित्र जाने प्रयास गरेको थियो।
तर सुरूङभित्र ढुंगा, माटो र लेदो भरिएपछि उद्धार टोली करिब १०० मिटरभित्र पुगेपछि अघि बढ्न सकेको थिएन।
त्यसपछि आयोजनाको प्राविधिकसहितको टोली खोजी र उद्धारमा खटिएको थियो।
खोजीकार्य जारी रहेको महाप्रबन्धक भट्टराइले जानकारी दिए।
२० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत २५ जना सम्पर्कविहीन छन्।