रूसले इरानलाई उन्नत किसिमका सुपरसोनिक (ध्वनीको गति भन्दा तेज) क्रुज क्षेप्यास्त्र विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको छ।
सी४३० एल कोडनेम दिइएको यो बहुवर्षीय गोप्य कार्यक्रमले मध्यपूर्वमा अमेरिकी विमानवाहक जहाज र अन्य युद्धपोतहरूलाई खतरा पुर्याउन सक्षम नयाँ प्रकारको हतियार विकास गर्न इरानलाई सहयोग गर्न सक्ने बेलायती पत्रिका फाइनान्सियल टाइम्सले जनाएको छ।
यसलाई रूसबाट इरानमा भएको रणनीतिक सैन्य प्रविधिको अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण हस्तान्तरण मध्ये एक मानिएको छ। सो कार्यक्रम अन्तर्गत रूसका केही अनुभवी क्षेप्यास्त्र विशेषज्ञहरूलाई इरानमा खटाइएको दाबी फाइनान्सियल टाइम्सले गरेको छ।
यो कार्यक्रम सन् २०२३ मा सुरु भएर अमेरिका–इसराइलको इरान विरुद्धको युद्धसम्म जारी रहेको चुहिएका रूसी पत्राचार, यात्रा रेकर्ड र सैन्य पेटेन्ट विश्लेषण मार्फत पत्ता लगाएको फाइनान्सियल टाइम्सले खुलासा गरेको छ।
यो कार्यक्रमको मुख्य उद्देश्य इरानलाई र्यामजेट प्रोपल्सन प्रणाली विकास गर्न सहयोग गर्नु हो। यो यस्तो इन्जिन हो जसले क्रुज क्षेप्यास्त्रलाई ध्वनीको गतिभन्दा कैयौं गुणा बढी गतिमा उडान गरिरहन मद्दत गर्दछ। क्षेप्यास्त्र तथा सैन्य विशेषज्ञहरूका अनुसार यो प्रविधि लगभग निश्चित रूपमा एन्टी-शिप (जहाज-विरोधी) र ल्यान्ड-अट्याक (भूमि-आक्रमण) क्रुज क्षेप्यास्त्रहरूका लागि लक्षित हो।
बेलायतस्थित हतियार ट्र्याकिङ संस्था 'कनफ्लिक्ट आर्मामेंट रिसर्च' का वरिष्ठ विश्लेषक तथा इरानी क्षेप्यास्त्र सम्बन्धी विशेषज्ञ फेबियन हिन्जले भने, 'यो रूसबाट रणनीतिक रूपमा अत्यधिक संवेदनशील सैन्य प्रविधिको हस्तान्तरण हो, जुन इरानीहरूले दशकौंसम्म प्राप्त गर्न चाहेका थिए।'
'यस्तो कार्यक्रमका लागि रूसको एकदमै उच्च तहबाट राजनीतिक अनुमति आवश्यक पर्छ,' उनले थपे।
सुपरसोनिक क्रुज क्षेप्यास्त्रले गतिका साथै कम उचाइमा उड्ने क्षमतालाई संयोजन गर्छन्। अत्याधुनिक हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरूलाई यस्ता क्षेप्यास्त्रलाई पत्ता लगाउन र खसाल्न धेरै समयलाई पाउँदैन। खाडी क्षेत्रमा इरानका लागि यो क्षेप्यास्त्र विशेष गरी सान्दर्भिक छ।
इरानले र्यामजेट प्रोपल्सन प्रणाली निर्माण र उडान परीक्षण गरिसकेको तर रूसको सहयोगमा तयार पारिएको सुपरसोनिक क्रुज क्षेप्यास्त्र हालसम्म युद्धमा परिचालन गरिएको कुनै प्रमाण नभएको फाइनान्सियल टाइम्सले जनाएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)