भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा फेला परेका १ सय ४५ वटा शव व्यवस्थापन गरिएको छ।
नारायणी नदीको त्रिवेणी, गण्डक बाँध लगायतका क्षेत्र सँगै भारतको कुशिनगरमा समेत दैनिक जसो शव फेला परिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार बुधबार साँझसम्म नारायणी नदी क्षेत्रमा १ सय ९५ वटा शव फेला परेका छन्।
ती मध्ये १४ वटा शव भारतमा फेला परेका थिए।
प्रहरीका अनुसार भोटेकोसी, त्रिशूली, नारायणी, गण्डक ब्यारेज हुँदै बगेर भारतको कुशिनगर स्थित खड्डा गण्डक क्षेत्रमा फेला परेका शवलाई सीमावर्ती क्षेत्र महेशपुर नाका हुँदै ल्याएर इलाका प्रहरी कार्यालय महेशपुरलाई हस्तान्तरण गरिएको थियो।
यसरी ल्याइएका शवहरू समेत नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा डिएनए सङ्कलन पछि व्यवस्थापन गरिएको हो।
अस्पतालहरूमा राखिएका शवका कारण बजार क्षेत्रमा समेत दुर्गन्ध बढ्दै गएपछि स्थानीय प्रशासनले मंगलबारदेखि जंगल क्षेत्रमा लगेर व्यवस्थापन गर्न थालेको हो।
प्रहरीका अनुसार बुधवारसम्म भेटिएका १९५ जनाको शव मध्ये ५ वटाको सनाखत भई आफन्तको जिम्मा लगाइएको छ भने ५० वटा शव बुटवल, भैरहवा र कपिलवस्तुका अस्पतालमा पठाइएको थियो।
अन्यत्र पठाइएका शवहरू पनि व्यवस्थापन भइरहेको प्रहरीले जनाएको छ। बाढी आएको ९ दिन भइसकेको र फेला परेका शवहरू पनि पहिचान गर्न नसक्ने अवस्थामा फेला पर्ने गरेकोले डिएनए सङ्कलन गर्ने बित्तिकै व्यवस्थापन गर्ने गरिएको प्रहरीले जनाएको छ।
बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका शवहरू सुनवल नगरपालिका वडा नं. ४ स्थित मूलपानी सामुदायिक वनको अलकत्रा डाँडा र बर्दघाट नगरपालिका वडा नं. २ स्थित चिसापानी सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको छ।
सामुदायिक वनमा एक्स्काभेटर र सुरक्षाकर्मीले खाडल खनेर व्यवस्थापन गरिएका प्रत्येक शवको पहिचान सहज बनाउन संकेत राखिएको छ।
शवलाई माटोले पुरेपछि पनि सोही स्थानमा फलामको प्लेट राखेर अङ्कमार्फत शवको विवरण सुरक्षित गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भविष्यमा परिवारका सदस्य वा आफन्तले डिएनए परीक्षणमार्फत शव पहिचान गर्न सकेमा पुनः उत्खनन गरी परिवारको जिम्मा लगाउन सकिने गरी शव व्यवस्थापन गरिएको हो।