बुधबार, भदौ १० गते, बिहान ९ बजेर २५ मिनेट गएको थियो।
बिहानी कक्षा सकेर प्रधानाध्यापक सुमनकुमार कर्ण भर्खरै घर पुगेका थिए।
फेरि विद्यालय फर्किनुपर्ने भएकाले उनी हतार हतार खाना खाने तयारीमा थिए।
थालीमा खाना पस्किसकिएको थियो।
ठ्याक्कै त्यही बेला उनको खल्तीमा रहेको फोन थरथरायो।
स्क्रिनमा साथीको नाम देखियो।
उनले फोन उठाए।
उताबाट साथीको अत्तालिएको आवाज आयो — 'सुमन सर! माथिबाट पहाडै भत्काएर लेदोसहितको भयानक बाढी आउँदैछ।'
यति भनिनसक्दै फोन काटियो।
त्यो एउटा वाक्य सुन्नेबित्तिकै खाना खान बसेका प्रधानाध्यापक कर्ण जुरुक्क उठे। मुटु ढुकढुक भयो। सातोपुत्लो उड्यो।
आँखाअगाडि विद्यालयमा पढ्ने २२० जना स-साना बालबालिकाका निर्दोष मुस्कान र निश्चल अनुहार घुम्न थाले।
उनले हत्तपत्त विद्यालयका एक शिक्षकलाई फोन गरे — 'बाढी आउँदैछ, बच्चाहरूलाई बचाउनुहोस्। साना-साना नानीहरूलाई काखमा च्यापेर माथि डाँडातिर भागिहाल्नुहोस्।'
फोन गर्दै उनी घरबाट निस्किए।
उनको घर नुवाकोटको विदुर नगरपालिका–२ बट्टारमा पर्छ। विद्यालय करिब पाँच किलोमिटर टाढा थियो।
विदुर नगरपालिका–१ मा त्रिशूली नदीको डिलमै थियो — त्रिशूली सामुदायिक बोर्डिङ स्कुल।
घरबाट विद्यालय पुग्ने पाँच किलोमिटर बाटोभरि सुमन शिक्षकहरूसँग फोनमै सम्पर्कमा थिए।
उनले फोनमा निर्देशन दिए अनुसार विद्यालयमा विद्यार्थीहरूको उद्धार सुरू भइसकेको थियो।
उनी अनियन्त्रित गतिमा कुदिरहेका थिए। सास अड्किएला जस्तो भइरहेको थियो।
बाटोभरि कामेको स्वरमा शिक्षकहरूलाई एउटै कुरा भनिरहेका थिए — विद्यार्थी बचाउनुहोस्।
'पाँच किलोमिटर कसरी यात्रा गरेँ, थाहा छैन,' उनले बुधबार सेतोपाटीसँगको कुराकानीमा भने, 'विद्यार्थीका कलिला अनुहार मात्र झलझली आँखामा आइरहेका थिए। घरबाट विद्यालय पुग्न कति समय लाग्यो भन्ने हेक्कासमेत भएन।'
विद्यालयको गेटमा पुग्दा नर्सरी र एलकेजीमा पढ्ने स-साना बालबालिकालाई शिक्षकहरूले बोकेर माथि उकालोतिर लगिरहेका थिए।
ठूला र हिँड्न सक्ने विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ लगिसकिएको थियो।
तैपनि सुमनलाई विद्यालयभित्र कोही छुटेको हुनसक्छ भन्ने लाग्यो।
विद्यालयको आँगनमा उभिएर उनले ठूलो स्वरमा चिच्याउँदै शिक्षकहरूलाई कक्षाकोठा फेरि एक पटक जाँच्न आग्रह गरे।
'कोही छैन,' शिक्षकहरूले जबाफ दिए।
त्यही बेला उनको नजर त्रिशूली पुलतिर पुग्यो।
पुल नजिकैबाट बाढीको ठूलो मुस्लो उठिरहेको थियो।
उनले विद्यार्थी खोजिरहेका शिक्षकहरूलाई पनि माथितिर भाग्न भने। आफू पनि दौडिए।
केही मिटर माथि पुगेपछि उनको सातोपुत्लो उड्यो।
बाढीको आकार यति विशाल थियो, पहाड नै बगाएर लैजाला जस्तो देखिन्थ्यो। उनी अझै विद्यार्थीहरूलाई डाँडातिर उकालो लाग्न भनिरहेका थिए।
तर उनको नजर बाढीमै थियो।
'त्रिशूलीको पक्की पुललाई आँखैअगाडि तासको पत्ताजस्तै बगायो,' उनले भने, 'त्यसपछि त्यो धमिलो र भयानक बाढी स्कुलको प्रांगणमा बजारियो। हेर्दाहेर्दै, आँखा झिमिक्क गर्न नपाउँदै कानका जाली फुट्ने गरी गर्जिएको बाढीले जमिन थर्काउँदै विद्यालयलाई सोहोरेर लग्यो।'
विद्यालय आसपासका घरहरू पनि केही बेरमै बाढीको मुस्लोभित्र हराए।
चारैतिर धुलो र लेदोको मुस्लो उठिरहेको थियो। जमिन हल्लिरहेको थियो।
उनी बसेको डाँडा नै कतै बगाउने हो कि भन्ने डर लागिरहेको थियो।
बाढीको धुलो र लेदोको मुस्लो अगाडि बढ्दै जाँदा उनले आफ्नो जीवनकै सबभन्दा पीडादायी दृश्य देखे — २०५० सालदेखि उभिएको विद्यालय। हजारौं बालबालिकाको भविष्य कोरिएको विद्यालय। आफ्नै रगत-पसिनाले सिँचिएको विद्यालय।
त्रिशूलीको उर्लेको भेलले विद्यालयका दुईवटा भवनलाई आँखैअगाडि निलिरहेको थियो।
'बच्चाहरूका खेलौना, उनीहरूका कापी-किताब, रङहरू अनि दुईवटा भवनलाई त्रिशूलीले आफ्नो पेटभित्र हुल्यो,' उनले भने, 'एकैछिनमा त्यो ठाउँ यस्तो बन्यो, आफ्नै आँखाले नदेखेकाहरूले त्यहाँ विद्यालय थियो भन्दा विश्वास गर्न गाह्रो हुने अवस्था भयो।'
केही बेर अघिसम्म जहाँ बालबालिकाको कलिलो हाँसो र कविताका मधुर धुन गुञ्जिरहेका थिए, त्यहाँ अब केही थिएन।
विद्यालयको भौतिक संरचनाको अंशसमेत बाँकी रहेन।
त्यहाँ केवल धमिलो नदी थियो, जसले निरन्तर जमिन काटिरहेको थियो। बाँकी थियो विरक्तलाग्दो बगर!
सुमनले बाढीमा घरहरू मात्र होइन, मानिसहरू पनि बगेको देखे। तर त्यो बेला चिच्याउनुबाहेक उनी केही गर्न सक्ने अवस्थामा थिएनन्।
उनी त्यही डाँडामा रूखहरूको आड लिएर आफूलाई सम्हालिरहेका थिए।
'त्यो दिन निकै बेर डाँडामा बसेर हामीले बाढी हेर्यौं,' उनले त्यो दिन सम्झँदै भने, 'त्यस्तो बाढी जोकोहीले कहिल्यै कल्पना गरेको थिएन होला। हामी त्यही बाढी आफ्नै आँखाले देखिरहेका थियौं। बाढीको भेलले आसपास देखिएका हरेक कुरालाई आफूमा मिसाउँदै लगेको थियो। आज सम्झिँदा पनि डर लाग्छ।'
निकै बेर डाँडामा बसेपछि उनीहरू अझै उकालो लाग्दै सुरक्षित ठाउँ खोज्न थाले।
विद्यालयतिर फर्किने बाटो बन्द भइसकेको थियो। त्रिशूलीमाथिको पुल बाढीले बगाइसकेको थियो।
विद्यालयमा २२० जना विद्यार्थी अध्ययन गर्थे। बाढीको सूचना पाएका कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई लिएर गइसकेका थिए। कतिपय अभिभावक भने समयमै विद्यालय पुग्न सकेनन्।
विद्यालयमा रहेका विद्यार्थीमध्ये हिँड्न सक्नेहरूलाई तत्काल सुरक्षित स्थानतर्फ लगिएको थियो। त्यसपछि २७ जना विद्यार्थी र २३ जना शिक्षक–कर्मचारी मात्र डाँडातर्फ पुगे।
त्यहीँबाट उनीहरूले सुरक्षित ठाउँ खोज्न थाले।
साँझपख नजिकै माथितिर रहेको अर्को विद्यालय 'स्पार्कल स्कुल' ले आश्रय दियो। त्यहाँ उनीहरूले पाँच रात बिताए।
'पाँच दिन त्यहाँ बसेपछि सेनाको हेलिकप्टरमा उद्धार गरिएको हो,' उनले भने, 'उद्धारपछि सबै विद्यार्थीलाई अभिभावकको जिम्मा लगायौं।'
तर उद्धारपछि पनि सुमनको मन ढुक्क भएन।
एक विद्यार्थी र एक विद्यार्थीका अभिभावक बेपत्ता भएको खबरले उनलाई झन् पीडा दियो।
'आज म कोचिङ आउँदिनँ सर'
त्रिशूली सामुदायिक बोर्डिङ स्कुलमा पढ्ने कक्षा ८ की एक छात्रा त्यस दिन विद्यालय आएकी थिइनन्।
अघिल्लो दिन विद्यालयमा भएको खेलकुद गतिविधिले थकित भएकी उनले बिहानै विद्यालयमा खबर गराएकी थिइन् — 'आज म कोचिङ आउँदिनँ सर।'
ती छात्रा त्यस दिन घरमै थिइन्।
उनको घर विद्यालयसँगै जोडिएको थियो।
बाढीले विद्यालयसँगै उनको घरको नामनिसान राखेन।
त्यसपछि ती छात्राको कुनै खबर छैन।
'हामीले पनि खोजिरहेका छौं। तर कतै भेटिएको छैन,' सुमनले भने, 'छात्राका आमाबुबालाई होल्डिङ सेन्टरमा राखिएको छ। उहाँहरू विक्षिप्त हुनुहुन्छ।'
विद्यालयमा उपस्थित नभएकै कारण त्यो दिन ती छात्रा बाढीको चपेटामा परिन्।
यही घटनाले सुमनलाई बारम्बार एउटा प्रश्नतिर फर्काउँछ — यदि त्यो फोन केही मिनेट ढिलो आएको भए के हुन्थ्यो?
सुशान्तले घर त पाएनन्, आमाबुबा पनि पाएनन्
कक्षा ८ कै अर्का विद्यार्थी हुन् — सुशान्त तामाङ।
सुशान्त त्यो बिहान विद्यालय पुगेका थिए। त्यसैले बाढीबाट आफूलाई बचाउन सके।
तर बाढीको बितन्डा थामिएपछि घर फर्किंदा उनले अर्को ठूलो विपत्ति बेहोर्नुपर्यो।
उनको घर बाढीले बगाइसकेको थियो। आमाबा पनि सम्पर्कविहीन थिए।
'सुशान्तका आमाबा नै सम्पर्कविहीन छन्,' सुमनले भने, 'त्यही कारण उनलाई नुवाकोटकै किस्पाङ क्षेत्रमा बसोबास गर्ने आफन्त काकाको जिम्मा लगाएका छौं।'
'एक साताअघिसम्म जहाँ घन्टी बज्थ्यो, अहिले त्रिशूली बजिरहेछ'
अहिले विद्यालय रहेको ठाउँमा पुग्दा सुमनलाई आफ्नै आँखाले देखेको दृश्य पत्याउन गाह्रो लाग्छ।
एक साताअघिसम्म जहाँ विद्यालय थियो, अहिले त्यहाँ नदी बगिरहेको छ!
एक साताअघिसम्म जहाँ विद्यालयको घन्टीको आवाज सुनिन्थ्यो, अहिले त्यहाँ नदी उर्लिएको सुनिन्छ!
'नदी नजिकै स्कुलको आँगनमा विद्यार्थी खेलिरहेका दृश्य अब सम्झनामा मात्र छन्,' उनले भने।
उनले यसो भन्दै गर्दा स्वरमा पीडा मिसिएको प्रस्टै अनुभव हुन्थ्यो।
'अब फेरि त्यहाँ विद्यालयको भवन ठडिन्छ भन्ने आस छैन,' उनले भने।
अहिले रसुवा, नुवाकोट र धादिङ क्षेत्रका बाढीले प्रभावित धेरै विद्यालय बन्द छन्। तर त्रिशूली सामुदायिक बोर्डिङ स्कुलका विद्यार्थीका लागि विद्यालय बन्द मात्र भएको छैन, उनीहरूको विद्यालय नै छैन।
अब कसरी पढाइ सुरू गर्ने भन्ने प्रश्न प्रधानाध्यापक कर्णसामु उभिएको छ।
कुनै विद्यार्थीले आएर सोध्यो भने —
'हाम्रो स्कुल कहिले खुल्छ?'
'हाम्रा कापी–किताब कहाँ गए?'
'हाम्रो स्कुल कहाँ छ?'
उनले के जबाफ दिने?
यही सोच्दा उनको शरीर काम्छ।
'ती विद्यार्थीका प्रश्नको मसँग कुनै जबाफ छैन,' उनले भने।
विद्यालय फर्किने बाटो कहाँ छ?
विद्यार्थी र शिक्षकहरू अझै त्यो भयानक बाढीको त्रासबाट बाहिर निस्कन सकेका छैनन्। अलिकति ठूलो आवाज आउनेबित्तिकै बच्चाहरू तर्सिन्छन्।
त्यसैले सुमनलाई पुरानै ठाउँमा विद्यालय पुनर्निर्माण गरेर विद्यार्थी फर्काउन सम्भव होला भन्ने लाग्दैन।
तर विद्यालय लामो समय बन्द राख्न पनि सकिँदैन। केही समयपछि पठनपाठन पुनःसञ्चालन गर्नैपर्छ।
त्यही बगरमा फेरि विद्यालय ठड्याउनु तत्काल सम्भव देखिँदैन। त्यसैले उनी अर्को विकल्प हेरिरहेका छन्।
नजिकै कोलनीमा विद्युत प्राधिकरणको जग्गामा पहिले सञ्चालन भएको स्टार बोर्डिङ स्कुलको भवन खाली छ। सरकार वा विद्युत प्राधिकरणले त्यो पूर्वाधार प्रयोग गर्न अनुमति दिए त्यहाँबाट त्रिशूली सामुदायिक बोर्डिङ स्कुलको पठनपाठन सुरू गर्न सकिने उनको आशा छ।
'यदि त्यसो हुन सकेन भने २०५० सालदेखि हजारौं बालबालिकालाई ज्ञानको ज्योति बाँडेको त्रिशूली सामुदायिक बोर्डिङ स्कुल सधैंका लागि त्रिशूलीको बाढीसँगै इतिहासको पानामा मात्र सीमित हुनेछ,' उनले भने, 'मैले त्यहाँ ६ वर्ष पढाएँ र तीन वर्षदेखि प्रधानाध्यापक थिएँ भन्ने पनि सम्झनामा मात्र बाँकी रहनेछ।'
त्यो बिहान एउटा फोनकलले २२० बालबालिकाको ज्यान जोगायो, तर केही घन्टामै उनीहरूको विद्यालय इतिहास बन्यो।
अब सुमनसँग बाँकी एउटा मात्रै प्रश्न छ —
बाढीले बगाएको त्यो विद्यालयका बालबालिकालाई फेरि कहाँबाट पढाउन सुरू गर्ने?
***