मानिसको पहिचान औंठाछापबाट गरिन्छ। एउटाको औंठाछाप अर्कोसँग मिल्दैन। अब यही अवधारणा पशु बीमामा पनि प्रयोग हुन थालेको छ।
तर औंठाछाप होइन, पशुको थुतुनोको तस्बिरबाट।
के पशुको थुतुनो पनि उसको पहिचान बन्न सक्छ?
बीमा प्रविधिमा भइरहेको नयाँ अभ्यासले यसको उत्तर खोजिरहेको छ। गाई–भैंसीको थुतुनोको तस्बिर मोबाइलबाट लिएर त्यसमा रहेका जैविक विशेषताका आधारमा पशुको पहिचान गर्ने प्रविधि प्रयोगमा ल्याइएको छ।
बीमा गर्दा खिचिएको तस्बिर र पशु मरेपछि दाबीका क्रममा पठाइएको तस्बिर तुलना गरेर बीमित पशु एउटै हो कि होइन भन्ने पहिचान गर्न सकिने व्यवस्था भएको इन्सुरेन्स कम्पनीले जानकारी गराएको छ।
यसले बीमा गर्नेदेखि दाबी भुक्तानीसम्मको प्रक्रिया सहज बनाउनुका साथै पशु बीमामा देखिने दोहोरो बीमा, गलत विवरण र शंकास्पद दाबीको जोखिम घटाउने बताइएको छ।
युनाइटेड अजोड इन्स्योरेन्सको कृषि विभागका वरिष्ठ सहायक राजन धमलाका अनुसार यो प्रविधिबाट अहिलेसम्म करिब साढे ११ सय पशुको बीमा भइसकेको छ।
यसको सुरूआत ललितपुरबाट भएको थियो। अहिले ललितपुरसँगै अछाम र हुम्लामा यसको परीक्षण भइरहेको छ।
ललितपुरमा सबभन्दा धेरै करिब ४९० पशुको बीमा भएको छ। गोदावरी, चापागाउँ, बाग्मती र महांकाल क्षेत्रमा यसको प्रयोग बढी छ। अछाममा ३७२ र हुम्लामा ३२१ पशुको बीमा भएको धमलाले बताए।
यो प्रविधिको प्रयोग २०८२ भदौ महिनातिर ललितपुरबाट सुरू गरिएको थियो। पछिल्लो पटक २०८३ वैशाख २१ गते अछामको चौरपाटी गाउँपालिका–५ स्थित एक कृषि फर्ममा ५० भन्दा बढी भैंसीको बीमा गरिएको थियो।
यो प्रविधि प्रयोग गरेर गरिने इन्सुरेन्सलाई प्राविधिक रूपमा मजल प्रविधि प्रयोग गरिएको बीमा भनिए पनि किसानहरूले 'नाक स्क्यान गरेर गरिने बीमा' भनेर चिन्ने गरेका छन्। मानिसको औंठाछापजस्तै पशुको थुतुनोको पहिचानलाई बीमित पशुको डिजिटल परिचयका रूपमा प्रयोग गरिन्छ।
'मानिसको औंठाछाप लिएजस्तै हामी पशुको नाकको बायोमेट्रिक लिन्छौं। किसानले इन्स्योरेन्सको अफिस धाइरहनुपर्दैन। मोबाइलबाटै फोटो खिचेर घरबाटै बीमा गर्न सकिन्छ,' धमलाले भने।
परम्परागत पशु बीमामा प्राविधिकको सिफारिस, विभिन्न फारम र स्थानीय तहको सिफारिसजस्ता प्रक्रिया पूरा गर्नुपर्ने अवस्था थियो। नयाँ प्रणालीमा यी प्रक्रिया सकेसम्म सरल बनाइएको छ। अभिकर्ताले पनि मोबाइलबाटै पशुको तस्बिर र भिडिओ लिएर बीमा प्रक्रिया अघि बढाउन सक्छन्।
यसको अर्को महत्त्वपूर्ण पक्ष दाबी भुक्तानी हो। पशु मरेपछि किसानले बीमा कम्पनीको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता कम हुन्छ। मोबाइलबाटै तस्बिर र क्षतिको विवरण पठाउन सकिन्छ। बीमा गर्दाको तस्बिरसँग दाबीका क्रममा पठाइएको तस्बिर मिलाएर पशुको पहिचान गर्न सकिने भएकाले ट्यागमा मात्रै निर्भर हुनुपर्ने अवस्था घट्ने बताइएको छ।
'पशु मरेपछि ट्याग हरायो वा ट्याग बुझाउन सकिएन भनेर दाबीमै समस्या आउने अवस्था हटाउन खोजिएको हो। फोटोबाट बायोमेट्रिक मिलेपछि दाबीको प्रक्रिया अघि बढाउन सकिन्छ,' धमलाले भने।

हाल यो प्रविधि परीक्षणकै चरणमा भएकाले थप सुरक्षाका लागि पशुमा ट्याग पनि लगाइएको छ। प्रविधिको प्रयोग र परीक्षणबाट पर्याप्त विश्वसनीयता स्थापित भएपछि भविष्यमा डिजिटल पहिचानमै आधारित भएर बीमा गर्ने लक्ष्य छ।
यसको प्रयोगले कम्पनीको जोखिमसमेत घटाउने अपेक्षा गरिएको छ। एउटै पशुको दोहोरो बीमा गर्ने, गलत विवरण राख्ने वा अर्को पशुलाई बीमित पशुका रूपमा प्रस्तुत गर्ने सम्भावना कम हुन्छ। बीमा कम्पनीले बीमा गर्दा र दाबी गर्दा प्राप्त भएको तस्बिरबाट पशुको पहिचान जाँच गर्न सक्छ।
सफ्टवेयर इन्जिनियर सिसिल घिमिरेका अनुसार एपको विश्वसनीयता जाँच्न वास्तविक पशुमा लामो समयसम्म परीक्षण गरिएको थियो। एउटा भैंसी वधशालामा लैजानुभन्दा हप्तौंअघि थुतुनोको तस्बिर र भिडियो लिइएको थियो। पछि वधशालामा लगेर मासुका लागि प्रयोग गर्ने क्रममा पुनः त्यसैको तस्बिर लिइएको थियो।
'हामीले सफ्टवेयर विकास गर्ने क्रममा यसको विश्वसनीयता कायम गर्न धेरै परीक्षण गरेका छौं। कुनै भैंसी वधशालामा जानुभन्दा हप्तौंअघि मजलको फोटो र भिडिओ खिच्यौं। पछि वधशालामा लगेर मासुका लागि प्रयोग गर्ने क्रममा फेरि मजलको फोटो खिच्यौं। हामीले सेलेक्ट गरेको पशु ठ्याक्कै त्यही पशु भएकाले मिल्यो। एउटाको मजल अर्कोमा प्रयोग हुँदैन,' घिमिरेले भने।
एप इन्टरनेट नभएको अवस्थामा पनि चल्ने गरी तयार गरिएको छ। यसले मोबाइल नेटवर्क कमजोर भएका ठाउँमा समेत अभिकर्तालाई काम गर्न सहज बनाउने अधिकारीहरूले बताएका छन्। पशुको विवरण कागजमा लेखिरहनुपर्ने काम घट्छ। तस्बिर र भिडिओबाटै विवरण संकलन गर्न सकिन्छ।
दुर्गम क्षेत्रका किसानका लागि यसको महत्त्व अझ बढी हुने इन्सुरेन्स कम्पनीको भनाइ छ।
धमलाका अनुसार हुम्लाका कतिपय ठाउँमा प्राविधिकलाई तीन–तीन घन्टा हिँडेर पुग्नुपर्ने अवस्था छ। त्यस्ता ठाउँमा मोबाइलबाटै बीमा प्रक्रिया अघि बढाउन सकिने भएपछि कम्पनीको सेवा विस्तार गर्न पनि सहज हुन्छ।
'हुम्लामा ६ वटा गाईको बीमा गर्दा किसानहरू निकै खुसी हुनुभएको थियो। कुनै कागजपत्र भर्न नलगाई फोटोबाटै बीमा भएपछि उहाँहरूलाई प्रक्रिया निकै सजिलो लागेको थियो,' धमलाले भने।
यही नयाँ अभ्यास अघि बढाउन युनाइटेड अजोड इन्स्योरेन्स र प्लान्टस्याटले युएनडिपीको बीमा नवप्रवर्तन कार्यक्रमअन्तर्गत काम गरेका हुन्। युएनडिपीको नेपाल इन्स्योरेन्स इनोभेसन च्यालेन्जका विजेताका रूपमा युनाइटेड अजोड र प्लान्टस्याटले एआईमा आधारित डिजिटल गाई तथा भैंसी बीमा समाधान विकास गरेका हुन्।
युएनडिपीले यसलाई प्रविधिको प्रयोगबाट पशु बीमालाई छिटो, सहज र पहुँचयोग्य बनाउने नवप्रवर्तनका रूपमा अघि बढाएको जानकारी दिएको छ।
पशुको पहिचानका लागि थुतुनोको तस्बिर खिच्ने मोबाइल एप तयार गरिएको छ। एपमा बीमा गर्दा संकलन गरिएको तस्बिर र विवरण राखिन्छ। दाबीका क्रममा प्राप्त तस्बिरलाई त्यसैसँग तुलना गरेर बीमित पशुको पहिचान गर्न सकिन्छ।
सरकारले बीमा शुल्कमा किसानको लागत घटाउन सरकारले अनुदानसमेत दिँदै आएको छ। बीमा शुल्कको ८० प्रतिशत सरकारले अनुदानका रूपमा व्यहोर्छ। किसानले बाँकी २० प्रतिशत तिर्नुपर्छ। उदाहरणका लागि, ५ हजार रूपैयाँ प्रिमियम लाग्ने बीमामा किसानले १ हजार तिर्नुपर्छ भने ४ हजार रूपैयाँ सरकारले अनुदानका रूपमा व्यहोर्छ।
ललिता हुमगाईंले यही प्रविधिबाट चार गाई र चार भैंसीको बीमा गरेकी छन्। प्रत्येक पशुको बीमांक १ लाख रूपैयाँ छ। प्रतिपशु वार्षिक १ हजार रूपैयाँ प्रिमियम तिर्ने उनले बताइन्।
'यसरी बायोमेट्रिक गरिएको इन्स्योरेन्स सजिलो र छरितो हुन्छ भन्ने विश्वास छ,' हुमगाईंले भनिन्।
यो प्रणालीमा तीन जिल्लाका अभिकर्तालाई एप प्रयोग गर्ने, बीमा पोलिसी अपलोड गर्ने र देखिएका त्रुटि सच्याउने विषयमा तालिमसमेत दिइएको छ। एपलाई आगामी दिनमा थप परिष्कृत र विस्तार गर्ने बताइएको छ।