पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट अस्पताल सार्न सरकारलाई आदेश दिएको छ।
विगत तीन वर्षभन्दा बढी समयदेखि जेलमा रहेका विपक्षी नेता खानका लागि यो निर्णय राहत बनेको छ।
खानको तेहरीक-ए-इन्साफ पार्टीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार, सर्वोच्च अदालतले उनको पुनरावेदनको अर्को सुनुवाइ नभएसम्मका लागि राजधानी इस्लामाबादस्थित शिफा इन्टरनेसनल हस्पिटल्स लिमिटेडमा सारेर उपचार गराउन आदेश दिएको छ।
जियो टेलिभिजन च्यानल अनुसार सो मुद्दामा अर्को सुनुवाइ सेप्टेम्बर १६ मा हुनेछ।
सन् २०१८ देखि करिब चार वर्ष प्रधानमन्त्री छँदा बेलायतको 'नेसनल क्राइम एजेन्सी' ले फिर्ता पठाएको १९ करोड पाउन्ड हस्तान्तरण सहज बनाइदिए बापत एक व्यावसायिक घरानाबाट जमिन लिएको अभियोगमा खानले जेल सजाय काटिरहेका छन्।
यसबाहेक, आफ्नो पदावधिमा एउटा डिजाइनर गहना सेट र घडी लगायत सरकारी सम्पत्ति खरिद गर्नुअघि तिनको मूल्य कम आँकेको अभियोगमा उनलाई १७ वर्षको जेल सजाय पनि सुनाइएको थियो।
खानले यी सबै आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)