भक्तपुरको पुरानो जलसंस्कृति, धार्मिक परम्परा र सामुदायिक जीवनसँग जोडिएका हिटी (ढुंगेधारा) हरूको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष भदौ १२ गते जनै पूर्णिमाको अवसरमा ‘९९ हिटी परिक्रमा’ गरिने भएको छ।
भक्तपुरमा परम्परागत रूपमा जनै पूर्णिमाका दिन पूर्वतर्फ फर्किएका हिटीमा स्नान गरी निरोगी जीवनको कामना गर्ने चलन रहे पनि पछिल्ला दशकमा पानीका स्रोत सुक्दै जाँदा यो परम्परा कमजोर बन्दै गएको छ।
यही हराउँदै गएको संस्कृतिलाई नयाँ पुस्तासँग जोड्दै संरक्षणका लागि आवाज उठाउन भक्तपुर टुर्स रिसर्च सेन्टरले यो अभियानको अपिल गरेको हो।
अभियानअन्तर्गत भक्तपुरका हिटीहरूलाई चार भौगोलिक तथा सांस्कृतिक खण्डमा विभाजन गरी अध्ययन तथा परिक्रमा गरिनेछ:
सेक्सन ‘क’: दक्षिणी भक्तपुर
सेक्सन ‘ख’: उत्तरपश्चिमी भक्तपुर
सेक्सन ‘ग’: उत्तरपूर्वी भक्तपुर
सेक्सन ‘घ’: सापारु (गाईजात्रा) मार्गभित्र पर्ने ४४ हिटीहरू
‘फिट एन्ड फाइन’ यात्राको अवधारणासहित अघि बढाइएको यो अभियान धार्मिक वा पर्यटन भ्रमण मात्र नभई स्वास्थ्य र सम्पदालाई जोड्ने पैदल यात्रा हो। हाल पानी नआउने कतिपय हिटी परिसरमा पनि बिहान व्यायाम, भजन र सामुदायिक गतिविधि भइरहेका छन्।
स्थलगत अध्ययनका क्रममा जगाती हिटीजस्ता केही स्थानमा निरन्तर प्रयोगले ‘उपयोगले संरक्षण’ को सम्भावना देखाए पनि धेरैजसो हिटी पानीविहीन, झारपातले ढाकिएका वा निकास बन्द भई मौलिक स्वरूप गुमाउने अवस्थामा पुगेका छन्। विशेषगरी उत्तरपूर्वी क्षेत्रका अध्ययन गरिएका १० मध्ये ७ वटा हिटी पूर्णतः सुकेका छन्।
हिटीलाई केवल पुरानो संरचना नभई सामाजिक र वातावरणीय जीवनसँग जोडिएको सम्पदाका रूपमा जोगाउन स्थानीय समुदायको स्वामित्व, दैनिक सरसफाइ र प्राकृतिक पानीको स्रोत संरक्षण आवश्यक देखिएको छ। आयोजकले यस अभियानमा सहभागी भई भक्तपुरको जीवन्त जलसम्पदालाई नजिकबाट बुझ्न नगरवासी, विद्यार्थी, युवा तथा सम्पदाप्रेमीहरूलाई आह्वान गरेका छन्।