मकवानपुरमा गाडी दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ।
मंगलबार बिहान ८ बजे भीमफेदी गाउँपालिका-६ जुरीखेतमा गाडी दुर्घटना भएको थियो।
दुर्घटनामा परेर घाइते महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेले जानकारी दिए।
मृतक ४९ वर्षीय लक्ष्मी बडू हुन्। उनी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार तारादत्त बडूकी श्रीमती हुन्।
उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका लागि सेनाको हेलिकप्टरमा काठमाडौंको छाउनी अस्पतालमा ल्याइएको थियो।
त्यहाँ उपचारको क्रममा साढे १० बजे उनको मृत्यु भएको डिएसपी काफ्लेले बताए।
प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको गाडी काठमाडौंबाट वीरगन्जतर्फ जाँदै थियो। त्यस गाडीमा वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना सवार थिए।
गाडी सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका रजिस्ट्रार बडू र चालक छुनिलाल चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
न्यायाधीश डाँगी, रजिस्ट्रारकी श्रीमती लक्ष्मी, उनका छोरा रितेन्द्र र छोरी रितालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। त्यसमध्ये लक्ष्मीको उपचारको क्रममा मृत्यु भएको हो। न्यायाधीशसहित अन्यको उपचार जारी छ।