प्रधानमन्त्री बालेन शाह बास बस्न पुगेको अस्ताम गाउँ पोखरासँग जोडिएको एउटा डाँडाको टुप्पामा बसेको छ।
अन्नपूर्ण श्रृङ्खलाको काखमा बसेको यो गाउँसँग माछापुच्छ्रे हिमालले आँखा जुधाउँछ। पूर्वतर्फ मनास्लु र पश्चिमतर्फ धौलागिरी हिमाल देखिने यो गाउँमा पोखराभन्दा पहिले नै बिहानको सूर्योदय हुन्छ।
समुन्द्री सतहदेखि १,५५० मिटर उचाइमा रहेको पर्यटकीय गाउँ अस्ताममा अहिले तीनवटा रिसोर्ट छन्। जसमध्ये बालेन अन्नपूर्ण इको भिलेज रिसोर्ट पूरै बुक गरेर बसेका छन्। शुक्रबार उक्त रिसोर्टमा अन्य पर्यटक बास बस्न जान पाउने छैनन्। रिसोर्टमा जान अन्य व्यक्तिहरूलाई पनि सुरक्षाकर्मीले रोक लगाएका छन्।
अस्ताममै सञ्चालित मिस्टिक हाइल्याण्ड रिसोर्टका सञ्चालक नन्दलाल अधिकारीका अनुसार अस्ताममा साना होटल र होमस्टेहरू पनि सञ्चालनमा छन्। कृषिबाट गाउँलेहरू पर्यटन व्यवसाय गर्न थालेका छन्। पर्यटनकै कारण गाउँको उत्पादन गाउँमै बिक्री हुन थालेको नन्दलाल बताउँछन्।
‘अस्ताम गाउँ आउने पर्यटक निकै रमाउने गरेका छन्, एक दिनका लागि आउनेहरू पनि धेरै दिनसम्म बस्न रूचाउँछन्,’ उनले भने, ‘पर्यटनमा फड्को मार्दै गर्दा गाउँलेका दुःख पनि बढेका छन्।’
प्रधानमन्त्री बालेनले समय दिए गाउँका दुःख र पीरपर्का सुनाउन स्थानीयले चाहेका छन्।
गाउँमा खानेपानीको समस्या समाधान गर्ने फाइल खानेपानी मन्त्रालय पुगेको छ, त्यसलाई सम्बोधन गरियोस् भन्ने चाहना छ। गाउँको प्रकृति र संस्कृति जोगाउँदै पर्यटन र कृषिको नमूना गाउँ बनाउन प्रधानमन्त्रीले ध्यान देओस् भन्ने चाहना राखेको पृथ्वीनारायण क्याम्पसका पूर्वक्याम्पस प्रमुख समेत रहेका नन्दलाल बताउँछन्।
‘प्रधानमन्त्रीज्यूले भेट्न समय दिनुभयो भने सबभन्दा पहिलो खानेपानीको फाइल अघि बढोस् भन्न चाहन्छौँ,’ उनले भने, ‘यहीँबाट मर्दी पदयात्रा जाने बाटो छ। मोटर बाटोले बिगार्यो, इको ट्रेल बनाउन पाए पर्यटनमार्फत यो क्षेत्रकै विकास हुन सक्थ्यो।’
नन्दलालको जस्तै प्रधानमन्त्रीसँग भेट्ने चाहना गाउँका अन्य बासिन्दाको पनि छ। तर सबैले पहिलो समस्या खानेपानीकै भएको बताउँछन्। अस्ताम गाउँमा रहेको मूल ठुलीकुवाबाट अहिले गाउँलेले प्यास मेटाएका छन्। यो कुवाको पानीले मात्र नपुगेको उनीहरू बताउँछन्।
गाउँको खानेपानी समस्या समाधान गर्न यसअघि १० किलोमिटर टाढा धम्पुसबाट खानेपानी ल्याइएको थियो। उक्त आयोजनाको पाइप फुटेर अहिले धारामा पानी आउन छाडेको स्थानीय राधा अधिकारी बताउँछिन्।
‘एक घर, एक धारा भनेर घरघरमा धारा पनि राखियो, तर पानी आउँदैन,’ उनले भनिन्, ‘पानीको पाइप फुटेको छ रे, एक महिना भइसक्यो पानी नआएको।’
धम्पुसबाट ल्याएको खानेपानी आयोजनाको पानीले मात्र अहिले अस्तामको प्यास मेटिँदैन। त्यही भएर खानेपानी मन्त्रालयले यहाँको प्यास मेटाउन करिब १५ किलोमिटर टाढाबाट पानी ल्याउने नयाँ परियोजनाको विस्तृत प्रतिवेदन (डिपिआर) तयार गरेर मन्त्रालयमा बुझाइसकेको छ। करिब २० करोड लागतमा उक्त पानी ल्याउन सकिने प्रतिवेदनमा उल्लेख भएको नन्दलाल बताउँछन्।
‘प्रधानमन्त्री बालेनज्यू, खानेपानी मन्त्रालयमा रहेको हाम्रो खानेपानीको डिपिआरको बजेट २० करोडको छ। यति काम गरिदिनुभयो भने सधैंका लागि आभारी हुने थियौँ,’ उनले भने।
विशुद्ध निजी भ्रमणका रूपमा प्रधानमन्त्री बालेन शुक्रबार अस्ताममा बस्ने बताइएको छ। शनिबार बिहान मुस्ताङतर्फ लाग्ने जनाइएको छ। यसबारे कास्कीका सुरक्षा निकायले कुनै जानकारी दिन चाहेको छैन। प्रधानमन्त्री बस्ने होटलको सुरक्षा नेपाली सेनाले गरिरहेको छ। सेना नेतृत्वको सुरक्षा टोलीले उक्त होटलमा स्थानीयवासीलाई जान दिएको छैन ।
‘हामीलाई अझै पनि आशा छ, प्रधानमन्त्रीले भेट्नुहुन्छ र हाम्रो कुरा सुन्नुहुन्छ,’ नन्दलाल आशा राख्छन्।