भदौ १० गते बिहान साढे ४ बजे पालुङटार नगरपालिका–५, नौखोरका ३६ जना गोसाइँकुण्ड यात्रामा निस्किएका थिए। एउटै गाउँका उनीहरू एउटै बस चढेर गोसाइँकुण्ड जाँदै थिए। बाटोमा हाँसो–ठट्टा गर्दै अघि बढिरहेका थिए।
उनीहरूलाई थाहा थिएन—केही घण्टापछि त्यही यात्रामा उनीहरूका लागि जीवन र मृत्युबीच केही सेकेन्डको दूरी बाँकी रहनेछ।
नुवाकोटको भैँसे नजिक पुग्दा सडक सामान्य थियो। घाम लागेको थियो। त्रिशूली नदी पनि शान्त देखिन्थ्यो। नदीमा बाढी आएको हल्ला भने सुनिएको थियो।
तर कसैले त्यसलाई ठूलो खतरा ठानेन।
‘नदी सङ्लै छ। घाम लागेको छ। बाढी भनेको अलिअलि होला भनेर सोच्यौं,’ बसमै सवार बद्री देवकोटाले भने।
बस आफ्नै गतिमा गुडिरहेको थियो। त्रिशूली नदी पार गरेपछि भैँसेतिर पुग्दा एक यात्रुले पिसाब लागेकाले गाडी रोक्न आग्रह गरे।
त्यही क्षण उनीहरूको यात्रा अचानक मृत्युको सामना गर्ने यात्रामा बदलियो।
बसमा सवार रविन्द्र देवकोटा ढोकानजिकै थिए। भैँसेतिर ओरालो झर्ने क्रममा एक्कासि अगाडिबाट ठूलो बाढी आएको देखियो।
‘एकैचोटि हामी अगाडि भेल देख्यौँ,’ उनले भने, ‘गाडी रोकियो। ओरालो झर्ने बेला सामान्य खोला जस्तो देखिन्थ्यो।’
ड्राइभर सागर देवकोटाले गाडी पछाडि फर्काउन खोजे। तर पानीको वेग बढिसकेको थियो।
‘ड्राइभरले ब्याक गर्न खोज्दा ऊ पनि बाढीमा पर्यो,’ रवीन्द्रले भने।
रवीन्द्र आफै भने गाडीबाट हामफालेर बाँचेका थिए।
त्यसपछि पानी एक्कासि आयो। बसभित्र रहेका यात्रुहरूलाई सोच्ने समयसमेत थिएन।
पिसाब लागेकाले ढोकानजिक बसेका बाबुराम देवकोटा त्यसैबेला बसबाट झरे। सहचालक पनि हामफाले। उनीहरूलाई देखेर तुलाराम देवकोटा पनि बसबाट झरे।
तर बसभित्र अझै धेरै मानिस थिए।
बद्री देवकोटा ड्राइभरको पछाडिपट्टि बसेका थिए। बाहिरको दृश्य एकाएक बदलिएको थियो। उनले माथिबाट आउँदै गरेको बाढीको लहरा, छाल र धुलोको ठूलो बादल देखे।
‘आकाश ढाक्ने गरी लहरा, छाल, कुइरो आएको देखेँ,’ उनले भने।
त्यो क्षण उनले एउटा निर्णय गरे।
‘दिमागमा जसरी पनि बाँच्नुपर्छ भन्ने सोँच आयो। तर बसभित्रै बसिरहे बाँच्ने सम्भावना कम हुन्छ। म हामफालेँ भने बाँच्ने सम्भावना ५० प्रतिशत हुन्छ भन्ने लाग्यो,' उनले भने।
उनकी श्रीमती पनि सँगै थिइन्। उनले उनलाई उठाउन खोजे। तर उनी उठिनन्।
‘बाहिर हामफाल्नुस् भनेर हात समातेँ। उहाँले हात छाड्नुभएन,’ बद्रीले भने, ‘मैले हात फुत्काएर हामफालेँ।’
त्यसपछि उनी सडकको कुनातिर दौडिए।
‘मेरो दिमागले अब म एकदम बलियो, दरो भएर होसपूर्वक भाग्नुपर्छ भन्ने विचार गर्यो,’ उनले भने, ‘म मुड्की कसेर माथितिर दौडिएँ। पाखातिर लागेँ।’
उनी सडकको कुनामा रहेको नालीतिर लागे।
करिब १५ मिटर पुगेका थिए। त्यही बेला अर्को ठूलो छाल आयो।
‘ठूलो छाल आयो। मलाई नालामा लडाइदियो। म हिलाम्मे भएँ। केही नदेखिने भयो।’
ढुङ्गाका छर्राले शरीरमा हानिरहेका थिए। करिब दुई सेकेन्ड पानीको छाल रोकियो। त्यही दुई सेकेन्ड उनका लागि जीवनको अर्को मौका बन्यो।
‘त्यतिखेर मैले टाउको उठाएर माथि हेरेँ। माथि चढ्दै गरेको देखेँ। एउटा बुटो पाएँ,’ उनले भने, ‘बुटो समातेर एक कदम माथि उक्लिएँ। नाला छाडेर बुटोको आड लागेर अर्को बुटो समातेँ।’
त्यहाँ पुगेपछि उनले पछाडि फर्केर हेरे। बस त्यहीँ थियो।
अनि अर्को छाल आयो।
‘गाडी गर्लम्म छालले भूमरी हाल्यो,’ उनले भने, ‘बस निस्कन्छ कि भनेर हेरेँ। तर कहीँ पनि निस्केन।’
बससँगै उनका आफन्त, साथी र गाउँका मानिसहरू थिए। त्यसपछि उनीहरूका लागि सबैभन्दा कठिन प्रश्न सुरु भयो—बाँकी मानिसहरू कहाँ गए।
रविन्द्र पनि बसबाट हामफालेर नालीमा पुगेका थिए।
‘पानीले सय मिटर जति बगायो,’ उनले भने, ‘अलि तल गएपछि कुना साइड लाग्यो। माथि भेट भयौँ।’
बद्री, रविन्द्रलगायत पाँच जना एकै ठाउँमा जम्मा भए।
‘पाँच जना भयौँ। अलि माथि पुग्यौँ। आत्तिएर तल आएको,’ रविन्द्रले भने।
उनीहरूले तलतिर हेरे। कोही रोइरहेको वा कराइरहेको आवाज आउँछ कि भनेर सुने। तर केही सुनिएन। त्यो मौनता उनीहरूका लागि झन् भयावह थियो।
ड्राइभर सागर देवकोटाकी आमा पनि यात्रामा थिइन्। उनलाई बचाउने प्रयास गरिएको थियो। तर उनी बाँच्न सकिनन्।
‘ड्राइभरको आमा पनि हुनुहुन्थ्यो। बचाउन खोज्दा रहनुभएन,’ रविन्द्रले भने।
ड्राइभर सागरले गाडी फर्काउने प्रयास गरिरहेका थिए।
‘गाडी फर्कने क्रममा थियो। मोडिसकेको थियो,’ उनले भने, ‘ड्राइभर भाइलाई अगाडिबाट पानीले हान्यो।’
बसमा सवारहरू एउटै गाउँका थिए। उनीहरू व्यक्तिगत रूपमा गोसाइँकुण्ड यात्रामा निस्किएका थिए।
बुधबार बिहान उनीहरू बिहान ४:२० बजे घरबाट हिँडेका थिए। गल्छीतिर खाजा खाएका थिए। करिब ४५ मिनेट त्यहाँ बित्यो। त्यसपछि उनीहरू अघि बढेका थिए। बाटोमा आठ–दसवटा ट्यांकर देखिएका थिए। ती ट्यांकरहरूले बाटो केही अवरुद्ध गरेका थिए।
त्यसबीच त्रिशूलीमा बाढी आएको हल्ला पनि उनीहरूले सुनेका थिए। तर नदी शान्त देखिएकाले उनीहरूले ठूलो खतरा अनुमान गरेनन्।
‘नदी सङ्लै थियो। घाम लागेको थियो। बाढी भनेको अलिअलि होला भनेर सोच्यौं,’ उनले भने।
बसमा दुई जना प्रहरी पनि थिए। उनीहरूबाट पनि कुनै चेतावनी नआएको बद्रीले बताए।
‘उनीहरूले पनि केही जानकारी गराएनन्,’ उनले भने, ‘सरकारको कमजोरी हो कि, पुलिसले नभनेको हो कि, जानकारी नै थिएन कि।’
बसबाट ज्यान जोगाएर पहाडमा पुगेका पाँच जना अब आफूहरू मात्र सुरक्षित भएको विश्वास गर्न सक्ने अवस्थामा थिएनन्।
उनीहरूका साथीहरू गाडीमै थिए।
उनीहरू करिब साढे ५ बजेसम्म पहाडमा बाटो खोज्दै भौतारिए।
‘साथीहरू गुमेका छन्। दर्दनाक अवस्था भयो,’ बद्रीले भने।
तर उनीहरूलाई उद्धारका लागि तत्काल कुनै सरकारी संयन्त्र पुगेन।
‘सरकारबाट केही जानकारी आएन। न हेलिकप्टर आयो, न साइरन बजाए,’ उनले भने, ‘भन्दा पनि कहाली लाग्छ।’
त्यसपछि उनीहरू बाटो खोज्दै हिलेखर्कतिर लागे।
उनीहरूसँगै गएको माइक्रोबस भने जोगिएको रहेछ। चालकले गाडी मोडेर माथितिर लगेका थिए।
त्यसमा सवार यात्रुहरू हिलेखर्कसम्म पुगे। त्यहाँ स्थानीयले उनीहरूलाई उद्धार गरे। तर घाइते र थकित अवस्थामा त्यहाँबाट तल झर्न उनीहरूलाई सजिलो थिएन।
इभी गाडीमा २३ जना कोचिएर उकालो बाटोबाट तल झरे।
स्थानीय तहले उनीहरूको उपचार, औषधि, खाने र बस्ने व्यवस्था मिलायो।
‘वडाध्यक्षले हामीलाई धेरै सहयोग गर्नुभयो,’ बद्रीले भने, ‘ब्यान्डेज, औषधि, उपचार, खाने–बस्ने र सुत्ने व्यवस्था मिलाइदिनुभयो।’
भोलिपल्ट काठमाडौंमा अर्को गाडी मगाइयो। उनीहरू उपचारका लागि काठमाडौं पुगे। जनमैत्री अस्पतालमा एक्सरे गरियो। उपचारपछि कोठामा बसे।
त्यसको भोलिपल्ट कुलेखानी जलविद्युत् ड्याम, हेटौँडा र नारायणघाट हुँदै उनीहरू राति साढे ९ बजे घर पुगे।
तर घर फर्किए पनि उनीहरूको यात्रा सकिएको थिएन।
उनीहरूका आफन्त र गाउँका मानिसहरू अझै हराइरहेका थिए।
पालुङटार नगरपालिका–५ का वडाध्यक्ष दीपक पाण्डेका अनुसार उक्त बसमा ३६ जना यात्रु सवार थिए। तीमध्ये केही यात्रु सम्पर्कमा आए पनि ठूलो संख्या सम्पर्कविहीन रहेको थियो।
वडाध्यक्ष पाण्डेका अनुसार सम्पर्कविहीन यात्रुमध्ये केदार पण्डित, कमला देवकोटा, सुजाता कँडेल र सुमी कुमालको शव भेटिएको छ। अन्य यात्रुको खोजी भइरहेको उनले बताए।
बद्रीका लागि भने त्यो बिहान अझै त्यहीँ रोकिएको छ—जब उनले श्रीमतीको हात छुटाएर बसबाट हामफालेका थिए।
त्यो निर्णयले उनको ज्यान जोगायो। तर उनी बाँचेको क्षणसँगै अर्को प्रश्न पनि उनको मनबाट हटेको छैन−बसभित्र रहेका अरू मानिसहरूको के भयो?