लामो समयदेखि अवरूद्ध मेची राजमार्गअन्तर्गत इलामको माइखोला–राजदुवाली सडकखण्ड सोमबार बिहानदेखि साना सवारी साधनका लागि खुला भएको छ।
लगातारको वर्षापछि गएको असार २५ मा सडक भासिएर अवरूद्ध बनेको उक्त खण्ड ५१ दिनपछि आंशिक रूपमा सञ्चालनमा आएको हो।
सडक डिभिजन कार्यालय इलामका अनुसार असार २९ गते सडक थप भासिएपछि मोटरसाइकल सहित सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको थियो।
पहिलो चरणमा साना तथा हलुका सवारी साधन मात्र सञ्चालन गर्न दिइएको सडक डिभिजन कार्यालय इलामले जानकारी दिएको छ।
सडकमा नाली, टेवा पर्खाल र डिवाटरिङ वेल निर्माण लगायतका पुनर्स्थापना कार्य अझै जारी रहेकाले ठूला तथा मालबाहक सवारी साधन भने सञ्चालन गर्न दिइएको छैन।
ती काम सम्पन्न हुनासाथ ठूला गाडी पनि छाडिने सडक डिभिजनले जनाएको छ। हालका लागि ठूला र मालबाहक गाडीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
मुख्य राजमार्ग लामो समय ठप्प हुँदा इलाम सहित पाँचथर र ताप्लेजुङको झापासहित तराईका जिल्लासँगको सीधा यातायात सम्पर्क टुटेको थियो।
यसबाट दैनिक उपभोग्य वस्तु ढुवानी, बिरामीको उपचार र सर्वसाधारणको आवतजावत प्रभावित बनेको थियो। साना गाडी चल्न थालेसँगै पूर्वी पहाडी जिल्लाका यात्रु र स्थानीयलाई राहत पुगेको छ।