अमेरिकाको डालसका उद्यमी राजीव राजभाटले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३० लाख रुपैयाँ जम्मा गरेका छन्।
सरकारले खडा गरेको दैवी प्रकोप राहत कोषमा उनले व्यक्तिगत रूपमा ३० लाख रुपैयाँ जम्मा गरेका हुन्। कोषमा जम्मा हुने रकम रसुवा, नुवाकोट लगायत बाढी प्रभावित क्षेत्रमा प्रयोग हुनेछ।
साथै, भिजिट नेपाल र युथ एन्ड डेभलपमेन्ट नामक संस्थाको संयुक्त पहलमा नेपालका लागि कुल ३ करोड नेपाली रुपैयाँ बराबरको राहत तथा पुनर्निर्माण कोषको घोषणा गरिएको छ। राजभाट भिजिट नेपालका अध्यक्ष समेत हुन्।
राजभाट गोरखाको पालुङटारका हुन्। जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्ड मेला भर्न गएका उनका आफन्त र पालुङटार नौखरेका ३० जनाभन्दा बढी छिमेकीहरू बाढी र पहिरोमा परी अझै बेपत्ता छन्।
उनीसहित युवाहरूले खडा गरेको कोषमा रहने रकमलाई दीर्घकालीन योजना अन्तर्गत खर्च गर्ने योजना छ।