काठमाडौंको कीर्तिपुरमा बाटोमा हिँडिरहेकी महिलालाई दुर्व्यवहार गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
कीर्तिपुर नगरपालिका-७ भाजंगल क्षेत्रमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।
घटना भदौ १२ गते राति साढे ७ बजेतिरको हो।
सु.प.प्र.००४ प ८७८ नं. को मोटरसाइकलमा सवार तीन जना युवाले हिँडिरहेकी महिलालाई पछ्याएर फोन नम्बर मागेको, अश्लील शब्द प्रयोग गरी दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको थियो।
उक्त घटनामा खोजी गर्ने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बझाङका २२ वर्षीय सत्यराज खत्री, कञ्चनपुरका २२ वर्षीय ललित दमाई र २१ वर्षीय अशोक भण्डारी छन्।
तीनै जनामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।