अरूबेला चिलिमे जलविद्युत आयोजना भएको ठाउँबाट खोला प्रस्ट देखिँदैन थियो। दूरी टाढा भएकाले अलिकति डाँडामा उक्लिएर हेर्दा भोटेकोशी सानो देखिन्थ्यो।
जेठ १० गते बुधबारको कुरा हो, त्यो दिन भोटेकोशीको रूप अचानक फेरियो।
सुरूमा सामान्य अवस्थामै बगिरहेको खोला एकाएक गर्जिन थाल्यो। माथिबाटै भयानक देखिने गरी पानीसँगै लेदो तलतिर आइरहेको थियो। धुवाँको मुस्लो उडेझैँ देखिन्थ्यो।
चिलिमेको प्रशासनमा कार्यरत वरिष्ठ सहायक कमल बहादुर खरेलका अनुसार पौने ९ बजेतिरको घटना हो यो।
ड्युटी समय भएकै थिएन। चिलिमेका अधिकांश कर्मचारीहरू उनीहरू बस्ने क्याम्पमै थिए। क्याम्प र कार्यालयको दूरी नजिकै छ। पावर हाउस भने त्यहाँबाट डेढ किलोमिटर जस्तो तल पर्छ। पावर हाउसभित्र र बाहिर गेटमा काम गर्ने दुई जना कर्मचारी भने उतै थिए।
'त्यतिबेला बत्ती पनि थिएन। म त घरभित्रै थिएँ। भूकम्प आए जसरी जमिन हल्लियो अनि हल्लाखल्ला भयो। बाहिर निस्किएर हेर्दा लेदो, धुवाँ, मुस्लो, कस्तो गन्ध आउने,’ उनी सम्झिन्छन्, ‘जमिन पनि त्यत्तिकै हल्लिएको, ठूलो भूकम्प आएको जस्तो। एकदमै पृथ्वी नै के हुन आँटेको जस्तो लागेको थियो। हामी त एकछिन अकमक्कै पर्यौं।’
हेर्दाहेर्दै तल बजारतिर लेदोले घरहरू पुर्न थाल्यो। कति घरहरू पल्टिएर बग्न थाले।
चिलिमे क्याम्पमा रहेका कर्मचारीहरू माथि उक्लिने निर्णय गरे। उनीहरूको क्याम नजिकै आर्मी क्याम्प पनि थियो। आर्मीहरू पनि त्यहाँबाट भागेर उकालो चढ्न थाले। कमलसहित चिलिमेका अन्य कर्मचारीहरू पनि त्यहाँबाट भागेर उकालो चढे।
'हामी त्यहाँ भएका २० देखि २५ जना कर्मचारी भाग्यौं। केन्द्र प्रमुख मनिष विष्टले पावर हाउसका साथीहरूलाई फोन गर्न थाल्नु भयो नेटवर्क गएछ फोनै लागेन। हामीमध्ये धेरैले पनि प्रयास गरियो, झ्याप्पै त्यतिबेला नेटवर्क र लाइन पनि गएको थियो, सम्पर्क नै हुन सकेन। बाढी आयो भनेर खबर गर्नै पाइएन,' उनले सुनाए।
पावर हाउस पुगेरै खबर गर्न पनि दूरीले टाढा थियो। त्यहाँ जाँदा बाढीले बगाउने जोखिम थियो। ज्यान बचाउन उनीहरू उकालो चढे।
'अलिकति मास्तिर उक्लिएका थियौं। हाम्रो क्याम्पभन्दा पछाडिको आर्मी क्याम्प बगाउन थाल्यो। हाम्रो भागाभाग चलिरहेको थियो। उकालोमा एउटा डाँडाले तलतिर छेक्छ त्यसपछि केही देखिएन। ५ देखि ७ मिनेटको समय लाग्यो होला टपमा पुग्न। त्यहाँ पुगेर हेर्दा हामी बस्ने ठाउँ र कार्यालय केही बाँकी थिएन। कसरी बगायो देख्न पाएनौं। केही मिनेटले हामी बाँच्न सफल भयौं,' उनले घटनाबारे सुनाए।
उनीहरू दिनभरि नै क्याम्पभन्दा माथिको डाँडामा बसे। राति नेपाली सेनाले उनीहरूलाई धुन्चे पुर्यायो। त्यहीँ बसे। त्यसको भोलिपल्ट आफू हेलिकप्टरबाट काठमाडौं आएको उनले बताए। उनको परिवार पनि काठमाडौं बस्छ।
'पावर हाउसमा चार जना अनि बाहिर गेटमा सुरक्षा गार्डहरू दुई जना थिए,' उनी भन्छन्, 'बाढीपछि सम्पर्क हुन सकेको छैन। चार जना चाहिँ भित्रै फसेको हुनुपर्छ। दुई जना गेटका उनीहरू त भित्र छिरेकी अथवा त्यहीँ भागे कि अहिलेसम्म ठ्याक्कै थाहा छैन।'
उनका अनुसार त्यो दिन पावर हाउस बिहानैदेखि बन्द थियो। ग्रिड काटिएपछि विद्युत् उत्पादन बन्द भएको थियो। तर पावर हाउसमा ड्युटीमा रहेका कर्मचारीहरू भने त्यहाँबाट बाहिर निस्कन मिल्ने अवस्था थिएन।
'पावर हाउस बन्द भए पनि ड्युटीमा बसिरहनुपर्छ, कतिखेर के गरी स्टार्ट गर्नुपर्ने हुन्छ। त्यही भएर उनीहरू ड्युटी छोड्न मिल्दैनथ्यो, भित्रै थिए,' उनले भने।
उनका अनुसार आयोजनाका एक स्थानीय कर्मचारी पनि बाढीयता सम्पर्कविहीन छन्। तर ती चालक त्यसदिन आयोजनामा थिएनन्। बिदामा थिए।
२०५३ सालदेखि चिलिमेसँग जोडिएर काम गरिरहेका कमलले आफ्नो लामो कार्यकालमा यसअघि पनि बाढी र लेदो लेखेका थिए। तर अहिले जस्तो भयावह अवस्था भने देखेका थिएनन्।
'२०६० सालतिर पनि ठूलो लेदो आएको थियो,' उनी सम्झन्छन्, 'त्यतिबेला रसुवा र चीनबीचको पुल बगेको थियो। थुप्रै गाडी बगेका थिए। चिलिमेको पावर हाउसमा समेत लेदो पसेको थियो।'
त्यसबेला पावर हाउसमा समेत असर पुगेको थियो। तर सफा गरेर चलाउन मिलेको उनको अनुभव छ।
चिलिमे नेपाल विद्युत प्राधिकरणको आयोजना हो। यो आयोजनाको भूमिगत पावर हाउसमा ६ जना फसेको आशंका गरिएको छ। तर बाढीको ७ दिन बितिसक्दा पनि उद्धार हुन सकेको छैन।
चिलिमे जलविद्युत आयोजनाका म्यानेजिङ डाइरेक्टर बाबुराजा महर्जनका अनुसार सुरूङमा फसेको आशंकामा उद्धारका लागि पहल भए पनि सफल हुन सकेको छैन। उपकरण अभावका कारण उद्धार गर्न नसकिएको उनको भनाइ छ।
नेपाली सेनाले विदेशी सहितको संयुक्त उद्धार टोलीले यो आयोजनामा खोज तथा उद्धारको काम जारी राखेको जनाएको छ।