चीनले तिब्बत क्षेत्रमा आएको बाढीले क्षतिग्रस्त राजमार्ग एक सातामै मर्मत गरी सञ्चालनमा ल्याएको छ।
गत साता गएको भीषण बाढीले नेपालसँगै तिब्बत क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। केरूङ जोड्ने मुख्य राजमार्ग पनि ध्वस्त बनाएको थियो।
चिनियाँ सञ्चारमाध्यम सिजिटिएनका अनुसार बाढीले क्षतिग्रस्त केरूङ जोड्ने मुख्य राजमार्ग बुधबार बिहानदेखि सञ्चालनमा आएको हो।
राजमार्ग खुलेसँगै ठूला सवारीसाधन र भारी उद्धार उपकरण विपद्को मुख्य क्षेत्रमा पुर्याउन थालिएको सिजिटिएनले लेखेको छ।
चाइना मिडिया ग्रुप (सीएमजी) का अनुसार जि२१६ राष्ट्रिय राजमार्ग खुलेपछि उद्धारकर्मीलाई विपद्को केन्द्रमा थप गहिराइसम्म पुगेर खोजी तथा उद्धार गर्न सहज भएको छ।
यसलाई गत बुधबारको विनाशकारी पहिरोपछि उद्धार अभियानमा भएको महत्वपूर्ण प्रगति भनिएको छ।
बरफ–चट्टानसहितको पहिरोमा परी चीनतर्फ १६ जनाको मृत्यु र ५४६ जना अझै सम्पर्कविहीन छन्।
चिनियाँ उद्धार टोलीले कठिन भूगोल, खराब मौसम र पहिरोको ठूलो प्रभावका बाबजुद खोजीलाई तीव्रता दिएको छ।
हेलिकप्टरबाट विपद्को मुख्य क्षेत्रमा पुर्याइएका तिब्बत सीमा प्रहरीसहितका उद्धारकर्मीले सम्पर्कविहीन भएका कसैलाई पनि नछाडिने बताएका छन्।
'हामी खोजीलाई तीव्र बनाउनेछौं। हामी हार मान्ने छैनौं, कसैलाई छाड्ने छैनौं। सम्पर्कविहीन भएकाहरूलाई खोज्न आफ्नोतर्फबाट सक्दो सबै प्रयास गर्नेछौं,' जिगात्से सीमा नियन्त्रण टुकडीका प्रहरी अधिकारी ये यीले सिजिटिएनसँग भनेका छन्।
पहिरो प्रभावित क्षेत्रमा माटो घुँडासम्म र कतिपय स्थानमा कम्मरसम्म जमेको उद्धारकर्मीले बताएका छन्।
बाक्लो माटोका कारण उद्धार टोलीको आवतजावत सुस्त हुनुका साथै सामान्य रूपमा प्रयोग हुने केही खोजी उपकरणको प्रभावकारिता पनि घटेको छ।
विशेषज्ञहरूका अनुसार उक्त पहिरोले यति ठूलो क्षति पुर्याउनुमा भूभागको तीव्र भिरालोपन, पहिरो बग्ने अत्यधिक गति र साँघुरो उपत्यका प्रमुख कारण हुन्।
कठिन अवस्थाका बाबजुद उद्धार टोलीले विभिन्न माध्यमबाट खोजी गरिरहेको छ।
उद्धारकर्मीले जमिनमा म्यानुअल खोजी गर्दै माटो तथा भग्नावशेषमा ठोकेर, आवाज दिएर र सुनेर जीवनको कुनै संकेत छ कि छैन भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्। दुईवटा तालिमप्राप्त खोजी कुकुरलाई पनि छुट्टाछुट्टै क्षेत्रमा परिचालन गरिएको सिजिटिएनले जनाएको छ।
त्यसैगरी भग्नावशेषभित्र पुरिएका मानिसको अवस्थिति पत्ता लगाउन जीवन पत्ता लगाउने अत्याधुनिक उपकरणसमेत प्रयोग भइरहेको छ।
उद्धारकर्मीका अनुसार पछिल्ला दिनमा नाकाको सम्पूर्ण क्षेत्रमा सतहको खोजी गरिसकिएको र माथिल्लो तहलाई पटक–पटक छानबिन गरिएको छ।
यसैबीच पहिरो प्रभावित क्षेत्रमा सञ्चार सेवा पनि पूर्ण रूपमा पुनःस्थापित गरिएको सिजिटिएनले जनाएको छ।
तिब्बतका दूरसञ्चार सेवा प्रदायकले मंगलबार साँझ ५ बजेसम्म एउटा बेस स्टेसन पुनः सञ्चालनमा ल्याउनुका साथै थप १२ वटा आपत्कालीन बेस स्टेसन स्थापना गरेको समाचारमा उल्लेख छ।
यसबाट उद्धार, राहत सामग्री आपूर्ति तथा उद्धार अभियानको कमान्ड र समन्वयका लागि निर्बाध सञ्चार सुविधा उपलब्ध भएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।
स्थानीय दूरसञ्चार अधिकारीहरूले हवाई र जमिन दुवैबाट सञ्चार सहयोग गर्ने प्रणालीसमेत सञ्चालनमा ल्याएका छन्।
त्यसअन्तर्गत ठूला मानवरहित विमान र सञ्चार रिले ड्रोन प्रयोग भइरहेका छन्।