त्रिशूली–३ 'ए' जलविद्युत आयोजनाको सुरूङ प्रवेशद्वारमा रहेका अप्रत्याशित ठूला सात वटा कडा ढुंगा विस्फोट गरी हटाइएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद तथा सुरूङ विज्ञ श्रीराम न्यौपानेले गएको रातभर सुरूङको मुखमा जमेको पानी निकालिएपछि सुरूङभित्र प्रवेश गर्ने क्रममा देखिएका ठूला ढुंगा विस्फोट गरी हटाइएको जानकारी दिएका हुन्।
उनले लेखेका छन्, 'अहिले विस्फोटबाट खसेका ढुंगा सफा गर्दै सुरूङभित्र तल झर्ने र सतह सम्याउने (लेभल डाउन) काम भइरहेको छ।'
उनका अनुसार सुरूङभित्र जम्मा भएको लेदो तथा माटो सफा गरेर बाहिर ल्याउन ह्विल लोडर र मिनी एक्स्काभेटर तयारी अवस्थामा राखिएका छन्।
सुरूङ सफा गर्दै करिब १६० मिटर अगाडि बढेपछि पावर हाउस पुगिनेछ। हाल पावर हाउस क्षेत्रलाई मात्र तुलनात्मक रूपमा सुरक्षित स्थान मानिएको छ।
उनले लेखेका छन्, 'सुरूङभित्र प्रवेश गरी अवरोध हटाउँदै पावर हाउससम्म पुग्ने प्रयास जारी रहेको छ।'