मुगुमा जडीबुटी संकलन गर्न गएका एक जनाको लेक लागेर मृत्यु भएको छ।
मुगूम कार्मारोङ गाउँपालिका–९ का २२ वर्षीय गणेश बुढाको लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले जानकारी दिए।
गत भदौ २८ गते उक्त वडाका १३ जना स्थानीय बासिन्दा कटुकी जडीबुटी संकलन गर्न हुम्ला र मुगुको सीमाक्षेत्रतर्फ गएका थिए।
उनीहरू मुगूम कार्मारोह-९ र हुम्लाको चखेली गाउँपालिका–२ मा पर्ने बागेढुंगा सामुदायिक वन क्षेत्रमा पुगेका थिए।
असोज ८ गते सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सहित १६ जना रेकीका लागि वन क्षेत्र गएका थिए।
त्यही क्रममा जडिबुटी संकलन गर्न पुगेकाहरूलाई समितिको टोलीले नियन्त्रणमा लिन खोजेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए।
नियन्त्रणमा लिन खोज्दा उनीहरू भागेका थिए। भाग्ने क्रममा उच्च हिमपात भएको हिमाली क्षेत्रमा परेर बुढाको लेक लागेर मृत्यु भएको हो।
घटनामा तत्काल नौ जना सम्पर्कविहीन भएकोमा हाल सात जना सम्पर्कमा आइसकेका छन्।
अन्य दुई जना पनि शनिबारसम्म टोलीकै सम्पर्कमा रहेको थियो। तर अहिले सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए।