बिहिबार वेस्ट इण्डिज डिफेण्डिङ च्याम्पियन अस्ट्रेलियासँग १५ रनले पराजित भयो तर एक समय वेस्ट इण्डिजले अस्ट्रेलियाका आधा ब्याटस्म्यानलाई ७९ रनमा आउट गरेर राम्रै दबाबमा पुर्याएको थियो।
अस्ट्रेलियाको त्यो अवस्था हेर्दा लाग्थ्यो जारी विश्वकपमा अस्ट्रेलियाका लागि दोश्रो खेल बिर्सनलायक हुनेछ। तर त्यस्तो भएन।
तर हिजोको खेलमा अस्ट्रेलियालाई बलिङ र ब्याटिङ दुबैमा बलरहरूले जोगाए।
यता वेस्ट इण्डिजलाई पराजय चखाउने क्रममा बलिङका नायक बने- मिचेल स्टार्क। उनले १० ओभरमा १ मेडन खेल्दै ४१ रन खर्चेर अस्ट्रेलियाका लागि पाँच विकेट लिए। उनले क्रिस गेल, जेसन होल्डर, आन्द्रे रसेल र कार्लोस ब्राथवेटको महत्वपूर्ण विकेट झारेका थिए।
ओपनिङ ब्याटिङ गर्दै २१ को स्कोरमा हुँदा उनले विष्फोटक ब्याटस्म्यानलाई एलबी डब्लुको धरापमा पार्दै पेभेलियन फर्काएर आफ्नो उत्कृष्ट बलिङको सुरूवात गरेका थिए।
त्यसपछि उनले ५१को स्कोरमा रहेका जेसन होल्डरलाइ जाम्पाको हातबाट क्याचआउट गराए भने आन्द्रे रसेल मात्र १५ रनको स्कोरमा पेभेलियन फर्काइदिए। यसैगरी उनले कार्लोस ब्राथवेट तथा कोटरेललाई क्रमशः १६ र १ रनमा आउट गरिदिएका थिए।
अर्कोतर्फ ब्याटिङमा पनि बलर नै चम्किए। त्यसरी चम्किने बलर थिए- नाथन कुल्टर नाइल।
अस्ट्रेलियाको ब्याटिङ कस्तो छ भने उनीहरू छिट्टै हार मान्दैनन्। एउटै ब्याटस्म्यानले पनि थुप्रै अवसरमा ठूलो स्कोर खडा गरेर टोलीलाई जित दिलाउन सहयोग गरेका छन्।
हिजोको खेलमा पनि त्यस्तै भयो र त्यो कमाल कुनै ब्याट्सम्यानले नभइ बलरले गरिदिए।
स्टार्कले इण्डिजको पारी ध्वस्त गर्नुअघि अस्ट्रेलियालाई सम्मानजनक भूमिकामा पुर्याउन कुल्टरले महत्वपूर्ण भूमिका खेले।
त्यसैले हिजोको खेलमा यी दुबै अस्ट्रेलियाका लागि नायक बने।
हिजोको खेलमा ३१ औं ओभरमा ब्याटिङ गर्न आउँदा अस्ट्रेलियाको स्कोर ६ विकेटमा १४७ रन थियो। सो समय स्टीवन स्मिथ ७३ रन बनाएर क्रिजमा थिए। उनलाई साथ दिने ठानिएका ब्याटस्म्यान पेभेलियन फर्किसकेका थिए। यस्तो परिस्थितिमा कुल्टर यस क्रिजमा प्रवेश गरे।
कुल्टरको यो २९ औं वान डे खेल थियो। उनले यस अगाडि ३५ रन आँकडा कहिल्यै पार गरेका थिएनन्।
यस्तोमा उनले अस्ट्रेलियालाई तार लाउलान भनेर सायदै गम्भीर रूपमा सोचेको हुनुपर्छ। तर जब उनले ब्याटिङ सुरू गरे तब उनले कमाल गरे। ६० बलमा ९२ रन जोडिदिए। यसक्रममा उनले अर्ध शतक बनाउन उनलाई ४१ बलको सामना गर्नुपर्यो।
कुल्टर र स्मिथले सातौ विकेटका लागि १०२ रनको साझेदारी गरे।
उनीहरूको साझेदारीले टोलीले ३०० को नजिक रनस्कोर पुर्याउने सोचिएको थियो तर २५० को स्कोरमा स्मिथ पेभेलियन फर्किए। त्यसपछि कुलटरले स्कोरलाई २८० मा पुर्याए र पूरा टोली २८८ मा आउट भयो।
मात्र ८ रनबाट आफ्नो पहिलो शतक बनाउन चुके पनि कुलटरले विश्वकपमा आठौं स्थानमा सर्वाधिक रन बनाउने विश्वकीर्तिमान भने आफ्नो नाममा बनाउन सफल भए। उनले आफ्नो पारीमा कुल आठ चौंका र चार छक्का प्रहार गरेका थिए।
समंग्र भने उनको यो रेकर्ड दोश्रो हो। पहिलो नम्बरमा यो रेकर्ड क्रिस वोक्सको नाममा छ। उनले सन् २०१६ मा आठौं नम्बरमा ब्याटिङ् गर्दै ९५ रन बनाएका थिए।
यो पनि पढ्नुस्ः