एसिसी यु-१९ एसिया कपमा नेपालले युएईमाथि १६० रनको सानदार जित हात पारेको छ।
श्रीलंकामा मंगलबार भएको खेलमा नेपालले दिएको २८६ रनको लक्ष्य पछ्याएको युएई ३४.४ ओभरमा १२५ रनमै अलआउट भयो।
युएईको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका सागर ढकालले ३ विकेट लिए। रासिद खान, सूर्य तामाङ र पवन सर्राफले २–२ विकेट लिए। कलमसिंह ऐरीको नाममा १ विकेट लिए।
युएईका लागि अरविन्द रुद्रवेलले सबैभन्दा बढी २८ रन जोडे।
त्यसअघि जितेको युएईले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २८५ रन जोड्यो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। रोहितले ६७ रनको योगदान दिए। आसिफ शेखले ४५ रन जोडे। रोहितले ८३ बलमा ८ चौका र १ छक्का र आसिफले ५४ बलमा ८ चौका हिर्काए।
त्यसअघि ओपनरद्वय पवन सर्राफ र रित गौतम खाता नै नखोली आउट भएका थिए।
सन्दीप जोराले ५३ बलमा ६ चौका हिर्काउँदै ४८ रनको योगदान दिए। कुशल मल्ल २२ रनमा आउट हुँदा रासिद खान र कमलसिंह ऐरीले आक्रमक ब्याटिङ गरे।
रासिदले ४६ बलमा ५ चौका र १ छक्काको मद्दतमा ४४ रन तथा कमलले २५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४१ रन बटुले।
बलिङमा युएईका मोहमद ताहिर र सचिथ शर्माले ३-३ विकेट लिए।
समूह 'बी' मा रहेका नेपाल र युएई यसअघि नै समूह चरणबाट बाहिरिसकेका थिए। त्यसैले खेल प्रतिष्ठाको लडाइँमा सीमित खेलमा नेपालले विजय हासिल गर्यो।
चार महिनाअघि मलेसियामा भएको आइसिसी यु–१९ छनोटमा वर्षाले अबरुद्ध खेलमा युएईसँग १ रनले पराजित भएको हारको बदला पनि नेपालले लिन सफल भएको छ। सो हारसँगै नेपाल यु-१९ विश्वकपमा छनोट हुन असफल भएको थियो।
नेपाल र युएईलाई पराजित गरेका श्रीलंका र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन्।
प्रतियोगिताको समूह ‘ए’ बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका थिए। समूहबाट पाकिस्तान र कुवेत बाहिरिएका थिए।