विराट कोहलीले सबै सफलता चाखिसकेका थिए। भारतीय क्रिकेटका उत्कृष्ट खेलाडीमा सचिन तेन्दुल्करपछि विराटकै नाम आउछ। सचिन त विश्वकै उत्कृष्ट खेलाडी भइगए। यो हिसाबले विराटलाई सचिनपछिका विश्वकै उत्कृष्ट क्रिकेटरभन्दा पनि फरक पर्दैन।
यसरी विश्व क्रिकेटमा आफ्नो ब्याटिङको जादूले धैरैलाई मोहित बनाएका विराटका लागि एउटा सपना भने पूरा भएको थिएन। विश्व क्रिकेटकै सबैभन्दा ठूलो, महँगो र लोकप्रिय लिग इन्डियन प्रिमियर लिग (आइपिएल) उनले जित्न सकेका थिएनन्।
सन् २००८ देखि सुरु भएको आइपिएलका २०२४ सम्मका संस्करणमा विराटले एउटै टोली रोयल च्यालेन्जर्स बेंगलुरूबाट खेले।
प्रत्येक सिजन बेंगलुरू उपाधि दाबेदार भए पनि उपाधिको स्वाद भने चाख्न पाएन।
मंगलबार अहमदाबादमा भने विराट र बेंललुरुको १८ वर्षको पर्खाइ समाप्त भयो।
आइपिएल २०२५ को फाइनल खेलमा पञ्जाब किंग्सका ब्याट्सम्यान शशांक सिंह अन्तिम ओभरको दोस्रो बलमा चौका प्रहार गर्न चुके तब बेंगलुरूको जित लगभग पक्का भइसकेको थियो।
बेंगलुरू च्याम्पियन बन्ने पक्का भएसँगै सबैको ध्यान विराट कोहलीमै केन्द्रीत थियो। विराटका आँखा आँसुले भरिएका थिए। ती आँखाले उनको वर्षौंदेखिको अधुरो सपना पूरा भएको संकेत गरिरहेका थिए।
अन्तिम ओभर सकिएर च्याम्पियनको औपचारिकता पूरा हुँनै लाग्दै विराट निकै भावुक बनिरहेका थिए। उनी कहिले आफ्ना रसाएका आँखाहरू लुकाउने प्रयास गर्थे त कहिले आकाशतिर हेर्थे। जब बेंगलुरूले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्यो, विराट कोहलीको खुसीको सीमा रहेन। उनी मैदानमै घुँडा टेकेर बसे र आफ्नो अनुहार हातले छोपे।
जितले भावुक बनेका विराटले भने, ‘मैले कहिल्यै सोचेको थिइनँ कि यो दिन देख्न पाउँछु।‘ बेंगलुरूले विराटमाथि त्यतिबेला विश्वास गरेको थियो, जतिबेला उनले भारतीय राष्ट्रिय टोलीबाट डेब्यूसमेत गरेका थिएनन्।
बेंगलुरू पहिलो पटक च्याम्पियन बनेपछि विराटले यो जित टोली र समर्थकहरूको बराबर भएको बताए। उनले भने, ‘यो १८ वर्षको लामो पर्खाइ थियो। मैले आफ्नो युवावस्था, मेरो उत्कृष्ट समय, मेरो अनुभव, सबैथोक यस टोलीलाई दिएँ। मैले कहिल्यै सोचेको थिइनँ कि यस्तो दिन आउँछ। अन्तिम बल फ्याँकिने बित्तिकै म भावविह्वल भएँ।’
उनले थपे, ‘जस्तोसुकै परिस्थिति आए पनि म यही टोलीसँग रहिरहेँ। कहिलेकाहीँ फरक सोचेँ होला, तर पनि म यही टोलीमा टिकिरहेँ। मेरो मन बेंगलुरूसँग छ, मेरो आत्मा बेंगलुरू र यो टोलीसँग छ, र म आइपिएल खेलुन्जेल यही टोलीमा रहनेछु।’
विराटले यो जितलाई आफ्नो करियरको सबैभन्दा अविस्मरणीय क्षणमध्ये एक भने। उनले भने, ‘आज म बच्चाजस्तै निदाउनेछु। लिलामीपछि धेरैले हाम्रो टोलीमाथि प्रश्न उठाएका थिए। तर हामीसँग जे थियो, हामी त्यसमा खुसी थियौँ। मेरो बारेमा त पहिले नै धेरै कुरा भनिसकिएको छ। यो जित बेङ्ग्लोरका लागि हो।’
विराट कोहली सन् २००८ मा उनको नेतृत्वमा भारतीय यू-१९ टोलीले विश्वकप जितेपछि चर्चामा आएका थिए। अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव नभएका बेंगलुरूले उनलाई पहिलो सिजनमा २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो।
'इन्डियन एक्सप्रेस' सँगको एक अन्तर्वार्तामा विराटले पहिलो सिजनको लिलामीबारे भनेका थिए, ‘लिलामी हुँदा हामी मलेसियामा थियौँ। हामीलाई प्रथम श्रेणीका क्रिकेटरका रूपमा २० लाख भारुमा अनुबन्ध गरियो। हामी अत्यन्तै खुसी थियौँ। २० लाख पाउनु हाम्रा लागि भावनात्मक कुरा थियो।’
त्यसपछि विराट कोहलीले आइपिएल र अन्तर्राष्ट्रिय क्रिकेटमा कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। पहिलो सिजनमा उनले १३ खेलमा १६५ रन मात्र बनाएका थिए। तर २०१० सम्ममा उनको प्रदर्शनमा सुधार आयो र उनी पहिलो पटक एकै सिजनमा ३०० भन्दा बढी रन बनाउन सफल भए।
सन् २०११ मा उनी बेंगलुरूको कप्तान नियुक्त भए। कप्तानको रूपमा उनले १६ खेलमा ५५७ रन बनाए र आरसीबी दोस्रो पटक आइपिएलको फाइनलमा पुग्यो। तर, महेन्द्र सिंह धोनीको चेन्नई सुपर किंग्सले बेंगलुरूलाई उपाधि जित्नबाट वञ्चित गर्यो।
अनेकौं वर्षको निराशापछि २०१६ को सिजनमा विराट कोहली एक अद्भूत अठोटका साथ मैदानमा उत्रिए। उनले एकै सिजनमा कैयौं कीर्तिमान बनाए। १६ खेलमा उनले कीर्तिमानी ९७३ रन बनाए, जसमा चार शतक र सात अर्धशतक सामेल थिए। बेंगलुरू तेस्रो पटक फाइनलमा पुग्यो। तर, यसपटक पनि सनराइजर्स हैदराबादसँग केवल ८ रनले पराजित हुँदा विराटको सपना फेरि अधुरै रह्यो।
प्रत्येक सिजन कोहलीको ब्याटबाट रन त निस्कन्थ्यो, तर टोलीका लागि उपाधि जित्नु केवल सपना नै रहिरह्यो। च्याम्पियन बन्न नसकेको निराशाका बीच २०२३ को सिजन सुरु हुनुअघि विराटले आरसीबीको कप्तानी छाडे। तर, आरसीबीलाई च्याम्पियन बनाउने आफ्नो लक्ष्यमा उनी ब्याटबाट लगातार योगदान दिइरहे।
२०२३ मा विराटको ब्याटबाट ६३९ रन निस्कियो भने २०२४ मा उनले ७४१ रन बनाए। यसैबीच, उनी आइपिएलमा आठ हजार रन पूरा गर्ने पहिलो खेलाडी पनि बने।
सन् २०२५ मा पनि विराटले बेंगलुरूलाई च्याम्पियन बनाउन कुनै कसर बाँकी राखेनन्। उनले १५ खेलमा ६५७ रन बनाए र अन्ततः आफ्नो १८ वर्षदेखिको अधुरो सपनालाई साकार भएको प्रत्यक्ष देखे।
-बीबीसी हिन्दीमा प्रकाशित आर्टिकलको भावानुवाद