केही समयअघिसम्म दिल्लीका सडकमा सामान्य मान्छेझैँ हिँड्ने प्रियांश आर्य अहिले 'सेलिब्रिटी' बनेका छन्।
आइपिएल २०२५ र २०२६ को सिजनमा पञ्जाब किंग्सका लागि विष्फोटक ब्याटिङ गरेपछि अहिले उनलाई सार्वजनिक ठाउँमा फ्यानहरूले सेल्फीका लागि घेर्न थालेका छन्। ३९ बलमा शतक र १६ बलमा अर्धशतक प्रहार गर्ने यी बायाँ हाते ब्याटर अहिले भारतीय क्रिकेटका नयाँ आशा मानिन्छन्।
प्रियांशको सफलताको पछाडि प्रशिक्षक रिकी पोन्टिङ र कप्तान श्रेयस अय्यरको ठूलो हात छ। प्रियांश भन्छन्, ‘पोन्टिङ सरले मलाई पहिलो भेटमै भन्नुभएको थियो– नेटमा मलाई प्रभावित पार्न नखोज, बस आफ्नो स्वभाविक खेल खेल। यसले मेरो दबाब हटाइदियो।’
त्यस्तै, जोफ्रा आर्चर जस्ता बलरको बलमा शून्यमै आउट हुँदा पनि कप्तान श्रेयस अय्यरले उनलाई गाली गरेनन्। बरु अय्यरले सोधे, ‘के तिमी पहिलो बलमै छक्का हान्न सक्छौ?’ प्रियांशले 'सक्छु' भनेपछि अय्यरले भने, ‘त्यसो भए डराउनु पर्दैन, पहिलो बलमै प्रहार गर। तिमी सबै १४ वटै खेल खेल्नेछौ।’ कप्तानको यो भरोसाले उनलाई निडर बनायो।
प्रियांशले रविचन्द्रन अश्विन जस्ता दिग्गज स्पिनर र मथिसा पाथिराना जस्ता तीव्र गतिका बलरलाई सजिलै छक्का प्रहार गरेका छन्। १४५ किमी प्रतिघण्टाको गतिमा आउने बललाई 'स्लाइस' गरेर छक्का हान्ने क्षमता उनीसँग छ। यसका लागि उनी नेटमा १८ गजको दूरीबाट अभ्यास गर्छन् ताकि बढी गति सामना गर्ने बानी परोस्।
दिल्ली प्रिमियर लिगमा एकै ओभरमा ६ छक्का प्रहार गरेपछि प्रियांश चर्चामा आएका थिए। त्यही प्रदर्शनले उनलाई आइपिएलको ढोका खोलिदियो। उनले त्यो ६ छक्का प्रहार गरेको ब्याट अहिले पनि घरमा सजाएर राखेका छन्।
प्रियांशको यात्रा सजिलो थिएन। उनी भारको 'अन्डर-१९' विश्वकपको टोलीमा परेनन् र सन् २०२४ को आइपिएल अक्सनमा उनलाई कसैले किनेनन्। त्यो समय उनी निकै दुःखी थिए। तर, उनले हिम्मत हारेनन् र घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गरेर देखाए।
उनका बुबा र आमा दुवै शिक्षक हुन्। पहिले उनीहरू भाडाको सरकारी क्वार्टरमा बस्थे। तर, अहिले आइपिएलको कमाइले प्रियांशले आफ्नी आमाको नाममा एउटा सुन्दर घर किनेका छन्। उनी भन्छन्, ‘मलाई आफ्नो व्यक्तिगत रेकर्डभन्दा पनि टोलीलाई च्याम्पियन बनाउनु छ।’