आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरूद्ध शुक्रबार भएको खेलमा नेपालले ६ रनको जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदान सुरुमा नेपाल दिएको २९० रनको लक्ष्य पछ्याएर युएईले ब्याटिङ गर्दा वर्षाले खेल रोकिएको थियो। युएईले ४.१ ओभरमा १ विकेटको क्षतिमा ३६ रन बनाउँदा खेल रोकिएको थियो।
त्यसपछि खेलमा नयाँ लक्ष्य दिँदै ओभर घटाइएको थियो। युएईले ३८ ओभरमा २५५ रनको नयाँ लक्ष्य पछ्याउँदा ८ विकेटको क्षतिमा २२८ रन बनाउन सक्यो।
अन्तिम युएईलाई १५ रन चाहिएको थियो। जसमा नेपालका नन्दन यादवले पहिलो बलमा चौका दिए। दोस्रो बलमा नन्दनले खुजैमा तन्विरलाई ४९ रनमा आउट भए। अर्को बलमा जुनइद सिद्धिकी रनआउट भए। चौथो बलमा युएईका अक्षदिप नाथले चौका प्रहार गरे। तर त्यसपछिका दुई बलमा नाथविरूद्ध नन्दनले डट बल फ्याँके। नाथले नटआउट ३६ रन जोडे।
त्यसअघि विकेटकिपर अडिब उस्मानीले १४ रन जोडे भने ओपनर अर्यंश शर्माले ३३ रनको योगदान गरे।
मोहमद शहदादले ६५ रन बनाउँदा युएई कुनै समय राम्रो स्थितिमा थियो। सन्दीप लामिछानेको एलबिडब्लूको धरापमा पर्नुअघि उनले ७२ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
हरप्रित सिंहले ४१ रन बनाए भने कप्तान मोहमद वसीम १ रनमा आउट भए। दुवैलाई सोमपाल कामीले पेभिलियनको बाटो देखाए। मोहमद जुहाइबलाई सन्दीपले १ रनमा बोल्ड गरेका थिए।
बलिङमा नेपालका सन्दीप लामिछानेले ८ ओभरमा १ मेडन राख्दा ३६ रन खर्चिए भने ३ विकेट लिए। सोमपाल कामी र नन्दनले २-२ विकेट लिए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २८९ रन बनायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १०० रन जोडे। एकदिवसीय खेलमा दोस्रो शतक प्रहार गरेका दीपेन्द्रले ९४ बलमा १३ चौका र १ छक्का प्रहार गरे। उनी अन्तिम बलमा रनआउट भएका थिए।
दीपेन्द्र र गुल्सन झाबीच छैटौं विकेटका लागि १०२ रनको साझेदारी भयो। गुल्सनले ३८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४४ रन बनाए।
त्यसअघि ओपनिङमा आएका विनोद भण्डारीले ७९ बलमा ७ चौकाको मद्दतमा ५६ रन बनाए।
ओपनिङमा मौका पाएका डेब्यू खेलाडी अर्जुन कुमालले ११ रन जोडे भने भीम सार्की शून्यमा पेभिलियन फर्किए।
कप्तान रोहितकुमार पौडेलले ४८ बलमा ३९ रन र आरिफ शेखले १६ बलमा ११ रन जोडे।
बलिङमा युएईका जुनइद सिद्धिकी र अजय कुमारले २-२ विकेट लिए।
नेपालले खेलका लागि आज चार परिवर्तन गरिएको थियो। करण केसीसहित कुशल भुर्तेल, आसिफ शेख र बसिर अहमद आज थिएनन्।
अर्जुन कुमाल र विनोद भण्डारीले ओपनिङ गर्दा नन्दन यादवले करण केसीको स्थानमा खेले। बसिर अहमद टोलीमा नहुँदा ललित राजवंशीले खेलेका छन्।
यसपटकको लिग-२ मा नेपालको प्रदर्शन राम्रो छैन। सहभागी आठ टोलीमध्ये नेपाल २३ खेलबाट १६ अंक जोड्दै पुछारबाट दोस्रो अथवा सातौं स्थानमा छ। पुछारको युएईको १२ अंक छ।