नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईले ओमानमाथि ५४ रनको जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको युएईले चिसो आउटफिल्डका कारण ४७ ओभरमा झारिएको खेलमा ८ विकेटको क्षतिमा ३०८ रन बनाएको थियो।
उसका लागि ओपनरद्वय अर्यंश शर्माले ५० रन र अदीब उस्मानीले ७२ रन बनाए। यस्तै हरप्रित सिंहले ७७ रन तथा मोहमदा साहजादले ७४ रन बटुले।
बलिङमा ओमानका मोहमद इमरानले ३ विकेट लिए। नदीम खानको नाममा २ विकेट रह्यो।
३०९ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा २५४ रनमा अलआउट भयो।
ओमानका लागि जितेन रमानन्दीले ६२ बलमा नटआउट ९१ रन र हमाद मिर्जाले ८३ रन जोडे प नि अरु ब्याटर चल्न सकेनन्।
बलिङमा युएईका जुनइद सिद्धिकीले ६ विकेट लिए। उनले ७.५ ओभरमा ४९ रन दिए।
यससँगै अंक तालिकाको पुछार अर्थात् आठौं स्थानमा रहेको युएईले २४ खेलबाट १४ अंक जोडेको छ। सातौं स्थानको नेपालको २३ खेलबाट १६ अंक छ। ओमान २७ खेलबाट ३१ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ।