चेन्नई सुपर किंग्सका २० वर्षीय युवा ब्याटर कार्तिक शर्माले इन्डियन प्रिमियर लिगमा खराब सुरुवातपछि अन्ततः आफ्नो लय समातेका छन्।
कीर्तिमानी मूल्यमा टोलीमा आबद्ध भएका कार्तिकले शनिबार मुम्बई इन्डियन्सविरुद्ध अविजित अर्धशतक प्रहार गर्दै टोलीलाई ८ विकेटको जित दिलाएपछि चेन्नईको टोली उत्साहित बनेको छ। उनले ४० बलमा नटआउट ५४ रन बनाए।
शनिबार मुम्बईलाई हराएपछि चेन्नईका प्रशिक्षक स्टिफन फ्लेमिङले युवा खेलाडीहरूको विकासका दुईवटा पक्ष हुने बताए।
फ्लेमिङका अनुसार, ‘एउटा पक्ष युवा खेलाडीलाई कसरी मैदानमा उतार्ने भन्ने हो। घरेलु क्रिकेटमा जस्तो प्रदर्शन गरे पनि आईपीएल निकै ठूलो हुन्छ। त्यसैले उनीहरूको मानसिकता बुझ्नु महत्त्वपूर्ण छ। उनीहरूमा प्रतिभा भए पनि हामीले खोज्ने भनेको 'टेम्परामेन्ट' (मानसिक धैर्यता) हो।’
यो सिजन कार्तिकको सुरुवात कठिन थियो र उनलाई केही समय टोली बाहिर पनि राखियो। तर उनले कडा मिहिनेत गरे र शनिबारको खेल त्यसैको प्रतिफल थियो। अक्सनमा महँगो मूल्य पाएका कार्तिकले मुम्बई विरुद्ध चौथो नम्बरमा ब्याटिङ गर्दै आफ्नो सीप र धैर्यता दुवै प्रदर्शन गरे।
कार्तिकको आईपीएल डेब्यु गुवाहाटीको कठिन पिचमा भएको थियो, जहाँ उनले १५ बलमा १८ रन मात्र बनाएका थिए।
पञ्जाब किंग्स र आरसीबी विरुद्ध पनि कम स्कोर गरेपछि उनलाई टोलीबाट बाहिर निकालिएको थियो। तर शनिबार मुम्बईविरुद्ध 'इम्प्याक्ट प्लेयर' का रूपमा मैदान छिरेका उनले आफ्नो पूरा क्षमता देखाए। उनले मिस्ट्री स्पिनर एएम गजनफरलाई सानदार छक्का प्रहार गरे भने तीव्र गतिका बलर ट्रेन्ट बोल्टलाई 'रिभर्स-स्कुप' हान्दै १६० रनको लक्ष्य सफलतापूर्वक पछ्याए।
सन् २०२५ को डियसेम्बरमा भएको अक्सनमा चेन्नईले कार्तिकलाई १४.२ करोड भारुमा किनेको थियो, जसले गर्दा उनी आईपीएल इतिहासकै सबैभन्दा महँगा 'अनक्याप्ड' (राष्ट्रिय टोलीबाट नखेलेका) भारतीय खेलाडी बनेका थिए।
यो महँगो मूल्यको दबाब कम गर्न चेन्नईको व्यवस्थापनले उनलाई महेन्द्र सिंह धोनी र प्रशिक्षक डेभिड रिडसँग समय बिताउने व्यवस्था मिलाएको छ।
फ्लेमिङले थपे, ‘मानसिक पक्ष निकै महत्त्वपूर्ण हुन्छ। हजारौँ दर्शकको अगाडि मैदानमा उत्रिँदा शान्त रहनु ठूलो कुरा हो। हामीसँग एमएस धोनी जस्ता महान् खेलाडी छन्, जो खेल जित्ने क्रममा सधैँ शान्त रहन्छन्। हामीले युवा खेलाडीहरूका लागि एउटा कार्यक्रम नै चलाएका छौँ, जहाँ उनीहरूलाई मानसिक सीप र विधिहरू सिकाइन्छ।’
प्रशिक्षक फ्लेमिङका अनुसार अहिलेको समयमा खेलाडीको प्रतिभासँगै उनीहरूको मानसिक स्वास्थ्यको ख्याल राख्नु र उनीहरूलाई असफलताको डरबाट मुक्त राख्नु क्लबको मुख्य जिम्मेवारी हो।