आफ्नो खेल जीवनको समयमा रिकी पोन्टिङ निकै उग्र स्वभावका थिए। उनी मैदानमा विपक्षीसँग सिधै भिड्थे। तर अहिले समय पूर्ण रूपमा फेरिएको छ।
भारतीय क्रिकेट फ्यानहरूको एउटा पुस्ताका लागि पोन्टिङलाई मन नपराउनु अनिवार्य जस्तै थियो। उनी भारतीय क्रिकेटका लागि एउटा नराम्रो सपना जस्तै थिए, जो शान्त भएर मैदानमा आउँथे र भारतको बलिङलाई तहसनहस बनाउँथे।
सन् २००० को दशकमा जब पोन्टिङ ब्याटिङ गर्न मैदानमा आउँथे, भारतीय फ्यानहरूमा एक किसिमको डर हुन्थ्यो। उनले लगातार शतक बनाए, अस्ट्रेलियालाई जिताइरहे र भारतीयहरूको रिस पनि बढ्दै गयो।
त्यतिबेला अस्ट्रेलियाली टोली निकै निर्दयी मानिन्थ्यो। स्टिभ वाले च्यारिटी र फोटोग्राफीका कारण भारतीयहरूको मन जितेका थिए, तर पोन्टिङको शैली भने घमण्डी जस्तो देखिन्थ्यो।
आज भने पोन्टिङ र भारतीय फ्यानबीचको सम्बन्ध पहिलाको भन्दा बिल्कुलै फरक छ। अब उनी भारतमा एक 'भिलेन'का रूपमा होइन, बरु सबैभन्दा बढी सम्मान पाउने विदेशी खेलाडीमध्ये एक मानिन्छन्।
पहिलेको पुस्ताका लागि पोन्टिङ त्यस्ता खेलाडी थिए, जसले खेल जित्नका लागि जे पनि गर्थे। सन् २००८ को सिड्नी टेस्टमा सौरभ गांगुलीको एउटा विवादास्पद क्याचको विषयलाई लिएर भारतमा उनको कडा विरोध भएको थियो। नयाँ दिल्लीमा उनको पुत्ला समेत जलाइएको थियो।
त्यस्तै, २००३ को विश्वकप फाइनललाई भारतीय फ्यानहरूले अझै बिर्सन सकेका छैनन्। पोन्टिङले १४० रन बनाएर भारतको सपना चकनाचुर पारेका थिए। त्यो इनिङ्स यति आक्रामक थियो कि उनको ब्याटभित्र 'स्प्रिङ' छ भन्ने हल्ला समेत फैलिएको थियो। भारतीय फ्यानहरूले उनको त्यो ब्याटिङलाई पचाउनै सकेका थिएनन्।
हरभजन सिंहसँगको उनको लामो विवाद र मैदानमा हुने झगडाले पनि उनलाई भारतीयहरूको नजरमा खराब बनाएको थियो। सन् २००६ मा च्याम्पियन्स ट्रफी जित्दा तत्कालिन बिसीसीआई अध्यक्ष शरद पवारलाई मञ्चबाट अलि अपमानजनक शैलीमा हटाएको घटनाले पनि आगोमा घिउ थप्ने काम गरेको थियो।
कसरी फेरियो सम्बन्ध?
यो तितो सम्बन्ध सन् २००८ मा आईपीएलको सुरुवातसँगै नरम हुन थाल्यो। पोन्टिङ पहिले कोलकाता नाइट राइडर्स र पछि मुम्बई इन्डियन्समा आबद्ध भए।
२०१३ मा मुम्बईको कप्तान हुँदा फर्म खराब भएपछि उनले आफैं पद छाडे र रोहित शर्मालाई कप्तान बनाउन बाटो प्रशस्त गरे। जब मुम्बईले उपाधि जित्यो, रोहितले पोन्टिङलाई सँगै ट्रफी उचाल्न बोलाए। त्यतिबेला हरभजन सिंह पनि उनीहरूकै साथमा थिए।
सन्यासपछि पोन्टिङले गर्ने कमेन्ट्रीले उनी कति बौद्धिक र क्रिकेटप्रेमी छन् भन्ने कुरा देखायो। दिल्ली क्यापिटल्स र अहिले पञ्जाब किंग्सको प्रशिक्षक बनेपछि उनको छवि झनै सुध्रियो।
नयाँ पुस्ताका भारतीय खेलाडीहरू उनीसँग नजिकिन थाले। उनले श्रेयस अय्यर जस्ता खेलाडीलाई सधैं साथ दिए। सामाजिक सञ्जालमा देखिने भिडियोहरूले पनि उनलाई फ्यानको नजिक पुर्यायो। कहिले उनी हातमा रातो धागो (रक्षाबन्धन/धागो) बाँधेको अवस्थामा देखिन्छन् त कहिले पञ्जाबका खेलाडी प्रभसिमरन सिंहको घरमा दाल-भात खाइरहेका भेटिन्छन्।
मैदान बाहिरको उनको सरल स्वभाव पनि बाहिर आएको छ। एक पटक पञ्जाबका साना फ्यानले अटोग्राफ माग्दा उनले आफैं युजवेन्द्र चहल र शशांक सिंहलाई बोलाएर ती बच्चालाई समय दिन आग्रह गरे। उनको छोरीहरूले भारतका खलील अहमदलाई माया गर्ने र हारमा आँसु झार्ने कुराले पनि भारतीयहरूको मन छोएको छ।
अहिले समय फेरिएको छ। भारतीय क्रिकेट टोली पनि अहिले पोन्टिङको अस्ट्रेलिया जस्तै शक्तिशाली र आत्मविश्वासी छ। विराट कोहलीको कप्तानीमा पनि पोन्टिङकै जस्तो शैली झल्किन्थ्यो।
दुई दशकअघि जसलाई भारतीय फ्यानहरू 'घृणा' गर्थे, आज उनी भारतीय क्रिकेटकै एक अभिन्न हिस्सा जस्तै बनेका छन्।
-इएसपिएन क्रिक इन्फोमा प्रकाशित लेखको भावानुवाद