अस्ट्रेलियाको डार्विनमा भइरहेको टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ।
डार्विनमा नेपालले बुधबार अस्ट्रेलियन क्यापिटल टेरेटोरी (एसिटी) लाई ६ विकेटले हरायो। यसअघि नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई हराएको थियो।
तर पहिलो खेलमा एनटी स्ट्राइक र दोस्रो खेलमा बंगलादेश हाइ पर्फमेन्ससँग नेपाल पराजित भएको थियो।
बुधबार पहिले ब्याटिङ गरेको एसिटीले ९ विकेटको क्षतिमा १४० जोडेको थियो। उसका लागि डाइलन हन्टरले ४४ रन बनाए।
बलिङमा नेपालका कुशल भुर्तेलले ३ विकेट लिए। उनले १७ओं ओभरमा तीन विकेट लिन सफल भएका थिए। कुशलले ३ विकेट लिँदा युवराज खत्रीले २ विकेट हात पारे। पवन सर्राफ, विपिन खत्री र शाहब अलामको नाममा १-१ विकेट रह्यो।
नेपालले १४१ रनको लक्ष्य ६ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि कप्तानीको भूमिका रहेका भुर्तेलले रनआउट हुनुअघि ६१ रन बनाए। उनले ४७ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
अंक तालिकामा नेपाल ४ खेलबाट ४ अंक जोड्दै सातौं स्थानमा छ। अब नेपालले किंग्सम्याच एकेडेमीसँग बिहीबार र भिक्टोरियासँग शनिबार खेल्नेछ।