अस्ट्रेलियामा भइरहेको टप एन्ड टी-२० सिरिजमा नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले बिहीबार आफ्नो पाँचौ खेल खेल्यो।
डार्बिनमा हैदरावाद किंग्समेन एकेडेमी र नेपालबीचको खेलअघि एक मिनेट मौनधारण गरिएको थियो।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार दुवै टोलीले एक मिनेट मौनधारण गर्दै नेपालमा प्राकृतिक विपदबाट प्रत्यक्ष प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएका छन्।
यस्तै नेपाली खेलाडीले खेलमा कालो पट्टी समेत बाँधेका छन्। क्रिकेटरले खेलका दौरान आफ्नो ऐक्यबद्धता प्रकट गर्न कालो पट्टी बाधेर खेल्ने चलन छ।
खेलमा भने नेपाल पराजित भयो। नेपालले पाँच खेलमध्ये तेस्रो पराजय भोग्ने क्रममा ३१ रनले पराजित भयो।
किंग्समेनले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १६६ रनमा अलआउट भयो।
नेपालका लागि कुशल भुर्तेलले ४६ बलमा ६ छक्का र ४ छक्का प्रहार गर्दै ६६ रन बनाए। तर अरु ब्याटर चल्न सकेनन्।
पहिले ब्याटिङ गरेको किंग्समेनले ५ विकेटको क्षतिमा १९७ रन जोड्यो। उसका लागि शेहान जयसुर्याले ६७ रन जोडे। टोलीमा जयसूर्यसाहित मिलिन्द कुमार, शायन जाहानगिर लगायतका अमेरिकाको राष्ट्रिय टोली खेलाडी थिए।
बलिङमा नेपालका नारायण जोशीले २ विकेट लिए। अब नेपालले अन्तिम खेल शनिबार भिक्टोरिया क्रिकेट एकेडेमीसँग खेल्नेछ।
यसअघि नेपालले घरेलु टोली एनटी क्रिकेट र बंगलादेश हाइपर्फमेन्ससँग पराजित भोगेको थियो। तर नेपालले होबार्ट एकेडेमी र अस्ट्रेलियन क्यापिटल टेरेटोरीलाई भने हराएको थियो।