विश्व क्रिकेटको सर्वोच्च निकाय (आइसिसी)प्रमुख कार्यकारी अधिकृत (सिइओ) संजोग गुप्ताले नेपालको क्रिकेटको माथिल्लो तहमा पुग्न तयार भएको बताएक छन्।
रोयटर्ससँग कुरा गर्दै गुप्ताले भनेका छन्, ‘नेपाल भोलिको अफगानिस्तान बन्न सक्छ, वा भनौँ भोलिको न्युजिल्यान्ड पनि बन्न सक्छ। उनीहरूले यस्ता उच्च स्तरका खेलाडीह तयार पारेका छन्, जसले विश्वस्तरका ठूला खेलहरूमा आफूलाई प्रमाणित गरिसकेका छन्।’
नेपालको तुलना प्रायः अफगानिस्तानसँग गरिन्छ। युद्धले जर्जर बनेको अफगानिस्तानले जसरी क्रिकेटप्रतिको प्रेम र छोटो फर्म्याट खेलमा तहल्का मच्चाउँदै सन् २०१७ मा टेस्ट राष्ट्रको मान्यता पायो, नेपाल पनि त्यस्तै बाटोमा देखिएको छ। नेपाल व्यापारिक हिसाबले धेरै ठूलो बजार नभए पनि यहाँको क्रिकेट क्रेज र प्रदर्शनको स्तर लोभलाग्दो छ।
आइसिसीले पछिल्लो दुई वर्षमा नेपालको क्रिकेट विकासका लागि ५० लाख डलर (करिब ६६ करोड रुपैयाँ) लगानी गरेको छ। साथै अर्को वर्ष हुने १९ वर्षमुनिको महिला विश्वकप आयोजनाको जिम्मेवारी पनि नेपाललाई दिएको छ।
गुप्ताका अनुसार, ‘नेपालसँग खेलका लागि सबैभन्दा ठूलो सम्पत्ति छ— त्यो हो यहाँको गहिरो लगाव भएको समर्थक।’
सन् २०२६ को टी-२० विश्वकपमा मुम्बईको वानखेडे स्टेडियममा स्कटल्याण्डविरुद्धको खेलमा देखिएको 'रातो सागर' (नेपाली समर्थक) लाई उनी आफ्नो खेल जीवनकै एक अविस्मरणीय क्षण मान्छन्।
सन् २०१४ को टी-२० विश्वकपमा छनोट हुनु नेपालका लागि एउटा मोड थियो। त्यसपछि सन् २०१८ मा एकदिवसीय मान्यता पाएपछि नेपालमा फुटबललाई उछिनेर क्रिकेट सबैभन्दा लोकप्रिय खेल बन्यो। नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्व कप्तान पारस खड्का भन्छन्,’विश्वकप छनोटले नेपालीहरूमा आफ्नो टोलीप्रति विश्वास र राष्ट्रिय गौरवको भावना जागृत गरायो।’
नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाली क्रिकेटमा व्यावसायिकता भित्र्याएको छ। खड्काका अनुसार एनपिएलबाट संकलित रकम क्रिकेटकै पूर्वाधार र विकासमा खर्च भइरहेको छ, जसले आर्थिक स्थिरता प्रदान गरेको छ।
नेपालले टी-२० विश्वकपमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका जस्ता बलिया टोलीहरूलाई कडा टक्कर दिएर आफूलाई प्रमाणित गरिसकेको छ। तर, पारस खड्काका अनुसार यो स्तरलाई टिकाइराख्न ठूला राष्ट्रहरूसँग निरन्तर खेलिरहनु आवश्यक छ। ‘हामी टेस्ट राष्ट्रहरूसँग दुई पक्षीय सिरिज खेल्न कुराकानी गरिरहेका छौँ, जुन छिट्टै सफल हुनेछ,’ उनले भने।
अहिले नेपालले महिला र पुरुष दुवै खेलाडीलाई केन्द्रीय सम्झौतामा बाँधेको छ, बहुदिवसीय क्रिकेट सुरु गरेको छ र भौतिक पूर्वाधारमा लगानी बढाउँदैछ। खड्का थप्छन्, ‘अफगानिस्तानको यात्रा हाम्रा लागि एउटा मार्गचित्रहो र हामी त्यही बाटो पछ्याउन चाहन्छौँ।’
-यो सामग्री समाचार एजेन्सी रोयटर्सको रिपोर्टको भावानुवाद हो।