संयुक्त अरब इमिरेट्स (यूएई) का ब्याटर आसिफ खानलाई प्रतिबन्धित औषधिको प्रयोग गरेको अभियोगमा १५ महिनाको प्रतिबन्ध लगाइएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीबार ६ वर्षीय आसिफले प्रतिबन्धित पदार्थ 'मेस्टेरोलोन' प्रयोग गरेको स्वीकार गरेपछि यो कारबाही गरिएको जानकारी दिएको हो।
सन् २०२५ को सेप्टेम्बरमा खेल प्रतियोगिता नभएको समयमा गरिएको परीक्षणमा उनी दोषी पाइएका थिए।
आसिफले आईसीसीको एन्टी-डोपिङ कोडको धारा २.१ उल्लंघन गरेको स्वीकार गरेका छन्। उनले विश्व एन्टी-डोपिङ एजेन्सी (वाडा) र आईसीसीसँगको 'केस रिजोल्युसन एग्रिमेन्ट' (सहमति) अनुसार यो सजाय स्वीकार गरेका हुन्, जसको अर्थ अब उनले यस निर्णयविरुद्ध पुनरावेदन (अपील) गर्न पाउने छैनन्।
यो प्रतिबन्ध ८ सेप्टेम्बर २०२५ देखि लागू भई ७ डिसेम्बर २०२६ सम्म कायम रहनेछ। आसिफ ८ अक्टोबर २०२६ देखि टोलीको प्रशिक्षणमा सहभागी हुन वा क्लबको सुविधाहरू प्रयोग गर्न सक्नेछन्, तर खेल खेल्नका लागि भने ८ डिसेम्बर २०२६ पछि मात्र योग्य हुनेछन्।
यसका साथै, ८ सेप्टेम्बर २०२५ देखि २९ डिसेम्बर २०२५ (निलम्बन हुनु अघि) सम्म उनले हासिल गरेका सबै व्यक्तिगत नतिजा, पदक, अंक र पुरस्कारहरू पनि रद्द गरिएका छन्।
पाकिस्तानको यू-१९ टोलीबाट क्रिकेट यात्रा सुरु गरेका आसिफले सन् २०२२ मार्चमा ओमानविरुद्धको खेलबाट यूएईका लागि डेब्यु गरेका थिए।
उनले हालसम्म ३८ एकदिवसीय र ५६ टी-२० अन्तर्राष्ट्रिय खेलहरू खेलेका छन्। सन् २०२५ को टी-२० एसिया कपमा उनले भारत, ओमान र पाकिस्तानविरुद्ध खेलेका अन्तिम तीन खेलहरूको रेकर्ड पनि अब उनको तथ्यांकबाट हटाइनेछ।