आगामी सातादेखि मलेसियामा एसिसी प्रिमियर कप सुरु हुँदैछ। एसिया कपको छनोटको रुपमा रहेको यो प्रतियोगिताअघि नेपालले भारतको बेंगलुरु र मलेसियामा अन्तिम तयारी गर्यो।
भारतमा दश दिन तयारी गरेपछि मलेसिया पुगेको नेपालले घरेलु टोलीविरूद्ध दुवै खेलमा जित निकाल्यो।
पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गर्दा नौ विकेटको जित निकालेको नेपालले बिहीबार बलरको सहयोगमा मलेसियालाई २७ रनले हरायो।
कुनै समय मलेसियाले खेलमा हाबी भए पनि नेपाली बलर राम्रो बलिङ गरे।
पहिले ब्याटिङ गरेको नेपाल खराब ब्याटिङका कारण ४१.४ ओभरमा १७० रनमै अलआउट भयो। मलेसिया भने ४०.१ ओभरमा १४३ रनमा अलआउट भयो।
कुनै समय ३८ रनमै पाँच विकेट गुमाएपछि नेपाल दबाबमा परेको थियो ।
तर रोहित पौडेलले रोहितले ६१ रनको महत्वपूर्ण पारी खेले । उनले गुल्शन झासँग छैटौं विकेटका लागि ५९ रनको साझेदारी गरे । गुल्शनले ४५ रन बनाए । फेरि रोहितले सन्दीप लामिछानेसँग पनि ४७ रनको साझेदरी गर्दा नेपालको रन बढेको थियो।
बलिङमा मलेसियाका अकिल वाहिद चार विकेट लिए । सैयद अजिजले तीन तथा रिजवान हैदरले दुई विकेट हात पारे।
१७१ रनको लक्ष्य पछ्याएको मलेसियाले राम्रो सुरुवात गरेको थियो। मलेसियाले ९४ रनमा एक विकेट मात्र गुमाउदा नेपाल दबाबमा परेको थियो।
तर मध्यओभरमा नेपाली बलरले राम्रो प्रदर्शन गरे। ब्याटिङमा मलेसियाका अकिल वाहिदले ५६ रन र नाजमुस साकिबले ५१ रन बनाए।
बलिङमा नेपालका ललित राजवंशीले ३ विकेट लिए । सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले २–२ विकेट लिए ।
एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ। नेपालले समूह चरणमा हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबियासँग खेल्नेछ। अर्को समूहमा युएई, ओमान, कुवेत, कतार र सिंगापुर छन्।
नेपालले पहिलो खेल भदौ १५ गते बहराइनसँग खेल्नेछ। दोस्रो खेल भदौ १८ गते मलेसिया, तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ मा हङकङसँग खेल्नेछ।
समूहमा शीर्ष दुईमा परे नेपाल सेमिफाइनल पुग्नेछ। सेमिफाइनल भदौ २५ गते, तेस्रो स्थान र फाइनल खेल भदौ २७ गते हुनेछ।
२०२७ को एसिया कपमा छनोट हुनका लागि नेपाल यो प्रतियोगिताको शीर्ष तीन टोलीभित्र पर्नुपर्नेछ।