स्पेनिस ला लिगामा बार्सिलोनाले पुनरागमन जित हात पारेको छ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-१ गोलले हरायो। खेलको पाँचौ मिनेटमै भ्यालेन्सियाले अग्रता लिएको थियो। उसका लागि गायाले गोल गरे।
खेलको १३ मिनेटमा अन्सु फातीले बार्सिलोनाका लागि गोल फर्काए। ४१ मिनेटमा डिपाएले पेनाल्टीबाट गोल गरेपछि बार्सिलोनाले अग्रता लियो।
८५ मिनेटमा काउटिन्होले बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए। काउटिन्होले बार्सिलोनाका लागि करिब एक वर्षपछि गोल गरेका हुन्।
खेल सकिन तीन मिनेट बाँकी छदा सर्जियो अग्युरो मैदान छिर्दै बार्सिलोनाका लागि डेब्यू गरे। उनी यहि सिजन इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका हुन्।
यता ला लिगा अन्तर्गत ग्रानडा र एट्लेटिको म्याड्रिड तथा रियल म्याड्रिड र एथ्लेटिक बिल्बाओबीचको खेल स्थगित भएका छन्।
ला लिगाको अंक तालिकामा रियल सोसिडाड ९ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको रियल म्याड्रिडको ८ खेलबाट १७ अंक छ।
तेस्रो स्थानको सेभिया, चौथो स्थानको एट्लेटिको र पाँचौ स्थानको ओसासुनाको पनि समान १७-१७ अंक छ। बार्सिलोना ८ खेलबाट १५ अंक जोड्दै सातौं स्थानमा छ।