भारतलाई हराउँदै बंगलादेशले साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ।
बुधबार ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनलमा भारतलाई १-० गोल अन्तरले हराउँदै घरेलु टोलीले लगातार दोस्रो पटक साफ उपाधि उचालेको हो।
बंगलादेशलाई दोस्रोपटक साफ उपाधि दिलाउन आनी बोगानीले निर्णायक गोल गरिन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम १० मिनेट बाँकी रहँदा उनले गोल गर्दै टिमलाई उपाधि जिताएकी हुन्।
यसअघि आइतबार समूहचरणको अन्तिम खेलमा श्रीलंकालाई १२ फराकिलो गोल अन्तरले हराउँदै बंगलादेशले अपराजित रहँदै उपाधि नजिक पुगेको थियो।
यस्तै समूह चरणको अन्तिम खेलमा नेपाललाई १-०ले हराउँदै भारत उपविजेता हुँदै फाइनलमा पुगेको थियो।
पहिलो खेलमा बंगलादेशविरुद्ध गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले हराएको थियो। तेस्रो खेलमा भुटानविरुद्ध ४–० गोलले विजयी भए पनि अन्तिम तथा निर्णायक खेलमा भारतसँग पराजित हुँदै समूह चरणबाटै घर फर्किएको थियो।
समूह चरणको पहिलो खेलमा नेपालले बंगलादेशलाई गोलरहित बराबरीमा रोकेको थियो।