सहिद स्मारक ‘ए’ डिभिजन लिगमा भोलि शुक्रबादेखि छैटौं चरणका खेल सुरू हुँदैछन्।
पाँचौ चरणको समाप्तीसम्ममा मनाङ मर्स्याङ्दी क्लब १३ अंक जोड्दै लिगको शीर्ष स्थानमा छ। दोस्रो स्थानको साविक विजेता मछिन्द्र फुटबल क्लबको ११ अंक छ। तेस्रो स्थानको त्रिभुवन आर्मी क्लबले ९ अंक जोडेको छ।
यी तीनै क्लबले लिगको छैटौं चरणको खेललाई महत्वका साथ लिएका छन्। किनभने सातौं चरणसम्ममा शीर्ष स्थानमा रहने क्लबले एएफसी कप खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले बताएको छ।
एएफसी क्लब लाइसेन्स प्राप्त गरेका यी तीन क्लब मध्ये सातौं चरणमा सम्ममा शीर्ष स्थान प्राप्त गर्नका लागि छैटौं चरणका खेलले भूमीका खेल्नेछ। क्लब लाइसेन्स प्राप्त गरेको अर्को क्लब एपिएफ फुटबल क्लब भने छनोट होडबाट बाहिरिसकेको छ।
छैटौं चरणमा शीर्ष स्थानको मनाङ र साविक विजेता मछिन्द्रबीच प्रतिस्पर्धा हुनेछ। यो खेल १० गते शनिबार हुनेछ। एएफसी कपको छनोट हुने होडमा रहेको अर्को क्लब आर्मीले आइतबार छैटौं चरणमा थ्रीस्टारसँग खेल्नेछ।
मनाङले मछिन्द्रलाई हराए सातौं चरणको खेलअघि नै एएफसी कपका लागि छनोट हुनेछ। मछिन्द्रले जित हात पारेमा भने एएफसी कपमा छनोट हुने टिमको टुंगो लाग्न सातौं चरणको खेल कुर्न पर्नेछ। सातौं चरणमा पनि जित हात पारे मछिन्द्र छनोट हुनेछ।
मनाङ र मछिन्द्रबीचको खेल बराबरीमा सकिएको अवस्थामा भने आर्मीलाई फाइदा पुग्नेछ।
मनाङ र मछिन्द्रले बराबरी खेलेमा आर्मी आफूले दुवै चरणमा जित हात पार्दा सातौं चरणमा पनि मनाङ र मछिन्द्रलै अंक गुमाउने आसा गर्नु पर्छ। यो समिकरण पूरा हुने सम्भावना कम हुने देखिएकाले आर्मीका लागि एएफसी कपमा छनोट हुने पनि कमजोर छ।
आर्मीले गत सिजन दोस्रो भए पनि क्लब लाइसेन्स प्राप्त गरेकाले एएफसी कप खेल्ने अवसर पाएको थियो।
एएफसी कप एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने दोस्रो ठूलो क्लब स्तरीय प्रतियोगिता हो।

