राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट नवौं चरणका खेल हुँदैछन्। आठौं चरणका खेल सकिएसँगै उपाधि होड रोमाञ्चक भइरहेके छ। यस्तै रेलिगेशन क्षेत्रमा रहेको टोली बच्नका लागि संघर्ष गरिरहेका छन्। नवौं चरणको खेल अघिको पत्रकार सम्मेलनमा सबै जसो क्लबले तीन अंकका लागि खेल्ने बताएका छन्।
शुक्रबारबाट नवौं चरणका खेल आरम्भ हुँदा दिनको पहिलो खेल विभागीय फुटबल क्लब एपिएफ र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
दुबै टोली अंकका लागि मैदान उत्रिनेछन्। विभागीय क्लब एपिएफले विदेशी खेलाडी भित्र्याएसँगै राम्रो नतिजा निकाल्न सफल भइरहेको छ भने हिमालयन शेर्पाले मध्यम प्रदर्शन गर्दै तालिकाको बिचमा रहेको छ।
यस्तै तालिकाको उपाधि दौडमा रहेको मनाङ मर्स्याङ्दी फुटबल क्लबले दोस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
सातदोबाटोलाई हराउँदै मनाङलाई तालिकाको शीर्ष स्थानमा उक्लिने मौका छ। यता बलिया टोलीविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै आउको सातदोबाटो युथ क्लबले मनाङलाई रोक्ने दाउमा हुनेछ। मनाङका प्रशिक्षक तोपे फुजाले क्लब जुन भए पनि आफ्नो टोली तीन अंकका लागि खेल्ने बताए।
यता सातदोबाटो युथ क्लबले पनि राम्रो नतिजाका लागि खेल्ने बताएको छ । शीर्ष डिभिजनमा उक्लिएसँगै तारिफयोग्य प्रदर्शन गरेको सातदोबाटोका प्रशिक्षक सुरज महर्जनले बताए ।
आठौं चरणको समाप्तिमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको र्शीष स्थानमा रहेको छ। नवौं चरणको खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ। मच्छिन्द्र फुटबल क्लब उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।
शनिबारको खेलमा भने फ्रेन्ड्सले त्रिभुवन आर्मी फुटबल क्लबसँग तीन अंकका लागि खेल्ने जनाएको छ। फ्रेन्ड्स जारी लिगमा एक मात्र टोली हो जसले एक खेलमा पनि स्पष्ट तीन अंक जोड्न सकेको छैन।
यस्तै थ्री स्टार क्लबले संकटा क्लबसँग नवौं चरणको खेलमा प्रतिस्पर्धा गर्दा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच नवौं चरणको अन्तिम खेल हुनेछ।
यसैबीच कोरोना भाइरसको संक्रमणदर बढेपछि रंगशालामा खेल हेर्न जाने दर्शकका लागि खोप कार्ड अनिवार्य गरिएको छ।
जसका कारण राजधानीको दशरथ रंगशालामा भइरहेको सहिद स्मारक ए डिभिजन लिग हेर्न जाने दर्शकले आफूले कोरोनाविरूद्धको खोप लगाएको प्रमाणस्वरूप खोप कार्ड देखाउनु पर्नेछ।
यस्तै रंगशालाभित्र पसेपछि सामाजिक दूरी कायम हुने हिसाबले बस्नु पर्नेछ।
गृह मन्त्रालयले माघ ७ गतेदेखि सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्यसमेत गरिएको थियो। यसमा मोबाइलमा फोटोमात्रै भए पनि हुने प्रशासनले भनेको छ।
माघ ७ गतेअघि भने दर्शकले खोप कार्ड बिना नै रंगशालामा खेल हेर्न पाउनेछन्।
मंगलबार काठमाडौं उपत्यकाका तीनै वटा प्रशासन कार्यालयले सूचना जारी गर्दै गृह मन्त्रालयको निर्णयअनुसार संयुक्त आदेश जारी गरेका थिए।
यो विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले अब रंगशालामा फुटबल हेर्न खोप कार्ड अनिवार्य भएको बताएका छन्।
गत वर्ष नेपाल सुपर लिग दर्शकबिनाको रंगशालामा खेलाइएको थियो। यो सिजनको सहिद स्मारक ए डिभिजन लिगमा भने उल्लेख्य मात्रमा दर्शकको उपस्थिति हुने गरेको छ।
जारी लिगको एकै खेलमा १० हजार सम्म टिकट बिक्री भएका छन्।