राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष पशुपतिशमशेर राणा महाधिवेशनमा निर्वाचन प्रक्रियाबाट अलग रहने भएका छन्।
महाधिवेशनमा आफू नउठ्ने र पार्टीको एकता र हितका लागि भने क्रियाशील रहने उनले बताएका छन्।
मंगलबार पत्रकार सम्मेलन गर्दै राणाले सर्वसम्मतिका लागि आफ्नो भूमिका र सहयोग अनवरत् रहेको बताएका छन्।
‘सहमति र सर्वसम्मतिका आधारमा पार्टी नेतृत्व चयन होस् भन्ने मेरो चाहना छ, त्यसैले सर्वसम्मतद्वारा अध्यक्ष चयन होस् भन्ने मेरो प्रयत्न हुने छ,’ राणाले भने।
राप्रपा महाधिवेशन भोलिदेखि काठमाडौंमा हुँदैछ। राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्।
अध्यक्षत्रयमध्ये डा. प्रकाशचन्द्र लोहनी र राणा निर्वाचन नलड्ने निर्णयमा पुगेका हुन्। लोहनीले लिङ्देनलाई समर्थन गरिसकेका छन्।
तर, राणा भने कतै खुलेका छैनन्।
‘आजको सन्दर्भमा पार्टी एकता सर्वोपरी सत्य बनेको छ। नेतृत्वको रस्साकस्सीमा फेरि पनि टुट र फुटको शृंखला नदोहोरियोस्,’ राणाले भने, ‘त्यसैले देशव्यापी सद्भावना र समर्थनका बाबजुत एकता र हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु।’