मेरी आमाले मलाई वर्ष सात पूरा हुँदा
पहिलो दिन कालो पाटी, कमेरोको सेतो मसि
र निगालाको हरियो कलम भिराएर
स्कुल पठाउनुभाको थियो,
क,ख र अ,आ सिक्नु भनेर।
भोलिपल्टदेखि म बाटोमा
घरि कान्लामाथि त घरि तल गरी
गाई बाख्रा छल्दै
स्कुलसम्म पुग्थे र क ख अ आ सिक्थेँ।
मेरो छोरा,
तिमी त भाग्यमानी...।
म कयौँ महिनासम्म
लेख्ने होइन, छाप्ने गर्थेँ
सरहरुले लेखिदिनुभएको कख र अआ
माथिबाट छाप्नसम्म नसकेर
कमेरोको सेतो मसी
कालोपाटीभरी पोतिन्थ्यो,
घरसम्म पुग्दा त कालोपाटीको
कालो मोसो र कमेरो कपडासम्म पुग्थ्यो
मेरी आमा मेलापातबाट आईनपुग्दै
अँगेनाबाट मोसो लिएर
कालोपाटी भोलिका लागि
तयार पार्थेँ र लुगा सफा गर्थेँ
मैले यति गर्दा आमा खुसी हुनुहुन्थ्यो
तर, आज तिम्रा लागि
तिम्री आमाले यति गरिदिँदा
तिमी खुसी हुन्छौ होला हगि,
मेरो छोरा,
तिमी त भाग्यमानी...।
तिमी पनि वर्ष सात पूरा भएछौ,
शिशु कक्षा हुँदै तीनमा पुगेछौ,
म त कति दिन भोकै स्कुल गएको थिएँ,
तिमी राम्रो टिफिन नहुँदा स्कुल जान्न भन्छौ रे,
नमिठो खान्न भन्छौ रे,
तिम्री आमाले तिम्रो जुत्ता लगाउदै गर्दा
घरछेउ बजेको तिम्रो स्कुलबसको हर्नले
तिमी हतारिन्छौ र झोला नै नबोकी दगुर्छौ रे,
तिम्रो किताबको झोला समेत
तिम्री आमाले बससम्म ल्याईदिनुहुन्छ रे,
अनि तिमी झ्यालबाट हात हल्लाउदै स्कुल जान्छौ रे,
मेरो छोरा,
तिमी त भाग्यमानी...।
कोरोनाको कहरमा पनि
अनलाइन पढिरहेको मेरो छोरा
पढेर असल र ठूलो मानिस बन्नु
तर व्यस्त मानिस नबन्नु
ताकी तिमीसँग आमाबालाई दिने समय नहोस्
र हामी वृद्धाश्रममा बस्नु परोस्
आजको तिमी भाग्यमानी छोरा
हामीलाई भोलिको भाग्यमानी बा-आमा बनाउनु
शुभकामना छोरा तिमीलाई...।।