बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा तोक्न माग गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई धर्नामा बसेका छन्।
बूढीगण्डकी प्रभावित गोरखातर्फ आरूघाट, आर्खेत र धादिङतर्फ खहरेका बासिन्दा, जनप्रतिनिधिलगायत बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिन पुगेका थिए।
गोरखा -२ बाट सांसदसमेत रहेका भट्टराई धर्ना बसेका हुन्।
‘बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिन गोरखा जिल्ला प्रशासन कार्यालय अगाडि जनप्रतिनिधिहरू र सरोकारवालाहरूको धर्ना! यो महत्वपूर्ण राष्ट्रीय गौरवको परियोजनाका समस्या हल गर्न सरकारको तुरून्त ध्यान पुगोस्!’ भट्टराईले ट्वीट गरेका छन्।
धर्नामा राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सांसदहरू प्रकाशचन्द्र दवाडी र धनमाया लामा पनि उपस्थित छन्।
शुक्रबार जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिने कार्यक्रम छ।
मंसिर १० गतेसम्म मुआब्जा निर्धारण नगरे बूढीगण्डकी प्रभावितले थप आन्दोलन घोषणा गर्ने जनाएका छन्।
१२ सय मेगावाट क्षमताको बनाइने बूढीगण्डकी आयोजनाका लागि पेट्रोलमा पाँच रुपैयाँ कर उठाइए पनि अझै निर्माण कार्य सुरू भएको छैन।
गोरखातर्फ साविक १४ र धादिङतर्फ १३ गाविसका जमिन डुवान पर्ने भए पनि मुआब्जा वितरण र तोक्ने काम पनि बाँकी नै छ।