नेपाली कांग्रेस पार्टीले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई हरेक वडामा कोभिड-१९ व्यवस्थापन क्याम्प सञ्चालन गर्न आग्रह गरेको छ।
शुक्रबार पार्टीको संगठन विभागले विज्ञप्ति जारी गर्दै देशका हरेक वडामा कोभिड व्यवस्थापन क्याम्पको सञ्चालन गर्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको हो।
सरकारले आफ्नो दायित्वबाट पन्छिएर पूरै हात उठाएको हुँदा नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्न लागेको विज्ञप्तिमा उल्लेख छ।
'पिसिआर परीक्षण आफैं गर, गाह्रो नभई अस्पताल नआऊ, संक्रमित मृतकको दाहसंस्कार आफैं गरजस्ता गैर-जिम्मेवार निर्देशन सरकारी पक्षबाट आउनु अत्यन्त दुखद र निन्दनीय छ,'विज्ञप्तिमा भनिएको छ, 'सरकारले पूरै हात उठाएको वर्तमान अवस्थामा जनताले राज्यको अस्तित्वको आभाष गर्न छाडेका छन्। यो विषम परिस्थितिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो भूमिका बढाउनु अपरिहार्य छ।'
क्याम्प सञ्चालन गर्न कार्यकर्ताहरूले कोभिड व्यवस्थापन समितिसँग समन्वय गरी वडामा रहेको आवश्यक बजेट समेत सदुपयोग गर्न आह्वान गरेको छ।
साथै, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन नजिकैको स्वास्थ चौकी, अस्पताल तथा स्वास्थ मन्त्रालय अन्तर्गतका निकायहरूसँग समन्वय गर्न भनिएको छ।
त्यसैगरी, वडाहरूका उम्मेदवार भएका हारे/जितेका वडा अध्यक्षहरूको नेतृत्वमा एक समिति समेत बनाउन आग्रह गरेको छ।
त्यस समितको रोहवरमा सञ्चालन हुनेगरी बैंक खाता सञ्चालन गर्न विभागले आह्वान गरेको छ।
प्राप्त भएका रकम र खर्चका विवरण नेपाली कांग्रेसको केन्द्रीय कोभिड व्यवस्थापन समितिलाई बुझाउनु पर्ने विभागले जनाएको छ।
आपतकालीन अवस्थामा सम्पर्क गर्न अधिकारीहरूको नाम र सम्पर्क नम्बर समेत सार्वजनिक गर्न भनिएको छ।
यसैगरी केन्द्रमा पनि प्लाज्मा बैंक तथा आपतकालीन कोभिड व्यवस्थापन गर्न सकिने अधिकारीहरू तथा विभिन्न हटलाइन नम्बरहरूको व्यवस्थापन गर्न आह्वान गरेको छ।