राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष प्रकाशचन्द्र लोहनीले सात बुँदे वक्तव्य जारी गर्दै अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनलाई समर्थन गरेका छन्।
लोहनीले मंगलबार होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलन गरी लिङ्देनलाई औपचारिक रूपमा अध्यक्षमा समर्थन गरेका हुन्।
पत्रकार सम्मेलनमा लोहनी-लिङ्देन दुबै पक्ष उपस्थित थिए। लोहनीले लिङ्देनलाई समर्थन गर्दै राप्रपामा आजको परिस्थितिमा नयाँ नेतृत्वले ठाउँ पाउनुपर्ने बताए।
उनले अन्य दुई अध्यक्ष पशुपतिशमशेर राणा र कमल थापालाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गरी नयाँ नेतृत्वलाई काम गर्न दिन अनुरोध गरेका छन्।
‘संविधानभित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतिप्रति राप्रपा प्रतिवद्ध छ, यो प्रतिवद्धतालाई मूल आदर्शको रूपमा लिएर अघि बढौं,’ लोहनीले भनेका छन्।
उनले मेचीदेखि महाकालीसम्मका प्रतिनिधिहरूलाई विवेक प्रयोग गर्न भन्दै त्यो निर्णयले पार्टीको भविष्य निर्धारण गर्ने बताएका छन्।
राप्रपाको महाधिवेशन मंसिर १५-१७ सम्म काठमाडौंमा हुँदैछ।
लिङ्देनसँग अर्का अध्यक्ष कमल थापा चुनाव लड्दैछन्।
थापाले सोमबार मात्र उम्मेदवारी घोषणा गरेका थिए। दुबैले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि प्यानल बनाइसकेका छैनन्।