पाँचथरमा भएको सामूहिक हत्याकाण्ड घटनाको अनुसन्धान गर्नको लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।
घटनाको अनुसन्धान गर्नको लागि एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको ब्यूरोका निर्देशक डिआइजी निरज बहादुर शाहीले जानकारी दिए।
पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको थियो।
घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिए । वडाध्यक्ष हस्तराज फियाकले घटनाको पुष्टि गरेका छन् ।
हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।
१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।
सम्बन्धित समाचारहरू :
पाँचथरमा दुई परिवारका नौ जनाको सामूहिक हत्या
पाँचथरको सामूहिक हत्या अनुसन्धान गर्न एसएसपी खत्री नेतृत्वमा टोली परिचालन