एक अधवैंशे महिला कुरुवाको भेषमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो वार्डमा केही दिनदेखि खटिइरहेकी थिइन्। नवजात शिशु स्याहार, आमाको सरसफाइ, लुगा धोइदिने, खाना ल्याइदिने लगायत काममा ती महिला खटिइरहेकी हुन्थिन्।
सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका १ की बबिता मेहता ती महिलाको व्यवहार देखेर पग्लिसकेकी थिइन्। सहयोगीको रुपमा उनले निःशुल्क सेवा दिने गरेको देखिरहेका धेरैले ती महिलालाई शंका गरेनन्।
बबिता रहेको क्याबिनमै आएर बुधबार राति ती महिला सुतिन्। ‘सहयोगी’ छेउमै सुतेपछि उनलाई साथीझैं लाग्यो। केही पनि भनिनन्।
तर, राति अबेर १२ बजे ब्युझिँदा शिशु थिएन। बबिता आत्तिइन्। डाक्टर गुहारिन्। नजिकैको क्याबिनमा रहेकाहरु भेला भए।
शिशु बेपत्ता भएपछि बबिता रोइकराइ गर्न थालिन्। भेला भएकाहरुले प्रहरीलाई फोन गरे।
प्रहरी आयो। ती महिलाले केही प्रतिक्रिया दिइरहेकी थिइनन्। वरपर कोही पनि बच्चा उठाउने खालको मान्छे नदेखेपछि प्रहरीले नजिकै रहेकी ती महिलालाई सोधीखोजी गर्यो। उनको अनुहारमा रुपरङ छिनमै परिवर्तन हुन थाल्यो। शंकाको दृष्टिमा उनी नै परिन्।
प्रहरीले उनको मोबाइलबाट अन्तिम फोन कसलाई गएको थियो भनेर जाँच गर्यो। त्यो नम्बरमा डायल गर्यो। फोन उठ्दा शिशु रोइरहेको आवाज सुनियो। प्रहरीले ती महिलालाई सँगै लिएर शिशु छिनमै ल्याई बबिताको जिम्मा लगायो। हराएको शिशु छिनभरमै भेटिएपछि बबिता खुसी भइन्।
इलाका प्रहरी कार्यालय धरानका अनुसार बिपी प्रतिष्ठानमा सहयोगीको भेषमा शिशु उठाउने ती महिला थिइन्, २७ वर्षीय लीला विक।
उनी केही समययता प्रतिष्ठानमा सहयोगी भेषमा छिरेकी थिइन्। विश्वासिलो सम्बन्ध बनाएर उनले राति बच्चा उठाएको प्रहरीले बतायो। ‘राति आफ्नी भाउजूलाई टेम्पोमा बोलाएर उनले शिशु पठाइदिएकी रहिछन्,’ प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले सेतोपाटीसँग भने, ‘अनुसन्धानका सिलसिलामा बच्चा चाँडै फेला पर्यो।’
लीलाले आफ्नी भाउजू मीलालाई बच्चा उठाउन टेम्पोमा बोलाएको खुलेको न्यौपानेले बताए। दुवैलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ। दुवै धरान(१५ बगरकोटका हुन्।
बबिताले असार १३ गते छोरा जन्माएकी थिइन्। बच्चाको स्वास्थ्यमा समस्या देखिएपछि वार्डको क्याबिनमा राखेर उपचार भइरहेको थियो। बबिताका अनुसार उनी क्याबिनमा शिशु राखेर उपचार थालेदेखि नै त्यहाँ आइरहन्थिन्, स्याहारसुसार गरिरहन्थिन्।
‘सहयोग गरिरहेकाले मैले क्याबिनमा आएर सुत्दा केही पनि भनिनँ,’ बबिताले प्रहरीलाई भनेकी छिन्। दुवै महिलामाथि प्रहरीले अनुसन्धान थालेको छ।
उनीहरुविरुद्ध शिशु चोरी तथा अपहरणको जाहेरी परेको छ। ‘प्रारम्भिक अनुसन्धान गर्दा महिलाले खराब नियतले बच्चा चोरी गरेको देखिन्छ,’ न्यौपानेले भने।
लीलाले आफ्नो बच्चा नभएकाले यस्तो कदम उठाएको बताएकी छिन्। उनी आफ्ना श्रीमान् भारतमा रहेको बताउँदै आएकी छिन्।
श्रीमान् भारतमा रोजगारी रहेको र त्यसक्रममै गर्भ रहँदा नेपाल आएका बखत गर्भ खेर गएपछि उनले शिशु उठाएको प्रहरीसँग बताएकी छिन्। ‘गर्भ खेर गएपछि आफ्नो श्रीमानसँग कुरा गर्न नसकेर उनले सो बच्चा मेरो हो भनी देखाउन यस्तो परिपञ्च रचेको खुल्नमा आयो,‘ डिएसपी न्यौपानेले भने।
सहयोगी भेषमा आउनेसँग ‘सचेत’ बन्नुपर्ने यो घटनाले प्रेरित गरेको न्यौपानेले बताए।