शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा ऐन संशोधन नहुने प्रष्ट्याएका छन्। डडेल्धुरामा अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको मागबारे स्पष्ट पार्दै मन्त्री पोखरेलले ऐन संशोधन नहुने बताए।
शिक्षा मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पोखरेलले भने, ‘गोविन्द केसीले भनेजस्तो अहिले चिकित्सा शिक्षा ऐन संशोधन हुँदैन।’
पोखरेलले ऐन जारी भएर भर्खर कार्यान्वयनको प्रक्रियामा गएका बखत सहयोग गर्नुको सट्टा केसीले संशोधनको कुरा उठाएर अनसन थालेको आरोप लगाए। ‘डाक्टर केसीले यही विषयलाई लिएर अहिले अनसन बस्नुपर्ने आवश्यकता छैन, उहाँसमेतको योगदानले ऐन बनेर कार्यान्वयनको चरणमा सहयोग गर्नुपर्ने हो,’ उनले भने।
केसीले तत्काल अनसन फिर्ता लिएर सरकारलाई सहयोगी भूमिका खेल्नुपर्ने उनको भनाइ छ। उनले विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको विषय पनि केसीको नभएको बताए।
‘हामीले सर्च कमिटी बनाएका छौं, तिनीहरूले आवेदन मागेका छन्, योग्य व्यक्ति छानेर प्रधानमन्त्रीले गर्ने नियुक्ति हो, कसैले यसलाई गर, उसलाई गर भनेर नहुने कुरा हो,’ उनले भने।
केसी चिकित्सा शिक्षा ऐन संशोधनको मुख्य माग राखेर तीन दिनदेखि डडेल्धुरामा अनसनरत् छन्। यस्तै, मन्त्री पोखरेलले चिकित्सा शिक्षामा मेडिकल कलेजले उठाएको बढी शुल्क फिर्ताको जिम्मा आफ्नो मात्र नभएर अभिभावक र विद्यार्थीसमेतको रहेको बताए।
मन्त्रिपरिषदले बढी शुल्क उठाउने कलेजविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन भन्दा पनि अभिभावक र विद्यार्थी त्यतापट्टि नगएकाले समस्या भएको उनले बताए।
‘प्रमाणसहित उजुरी दिनुहोस्, सरकारले कारबाही गर्छ भन्दा उहाँहरू प्रक्रियामा आउनुहुन्न,’ उनले भने, ‘सडकमा आन्दोलन गरिरहेका विद्यार्थी प्रशासन जानुपर्छ।’