टुँडिखेललाई अतिक्रमणमुक्त गर्न आव्हान गरिएको 'अकुपाई टुँडिखेल'को मानव साङ्लो बनाउने अभियानका लागि मानिसहरू विहान ८ बजेदेखि टुँडिखेलमा जम्मा हुन थालेका छन्।
मध्यसहरको यो खुला स्थलमा हराभरा पार्क बनाउन सरकारलाई दबाब दिने र सर्वसाधारणलाई सहरी क्षेत्रमा पार्कको महत्व बुझाउने उद्देश्यले संरक्षणकर्मी अभियन्ताहरूले यो कार्यक्रम गरेका हुन्।
आज शनिबार बिहान सुरू भएको यस कार्यक्रममा केदारभक्त माथेमा, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, महिला नेतृ हिसिला यमी, प्रदेश नम्बर ३ का सांसद विराजभक्त श्रेष्ठ लगायतका व्यक्तिहरू सहभागी भएका छन्।
केहिबेरमा सुरू हुने मानव साङ्लो अभियानका लागि पूर्व मन्त्री गगन थापा पनि टुँडिखेलमा उपस्थित भएका छन्। त्यसैगरी काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्ी पनि अभियानका लागि कार्यक्रमस्थलमा उपस्थित भएकी छन्।
अभियानकर्ताहरूले जनता र जनप्रतिनिधिहरू सबैलाई कार्यक्रममा सहभागी हुन आव्हान गरेका छन्।
पूर्वघोषित कार्यक्रमका अनुसार आज बिहान ८ देखि १० बजेसम्म टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर ‘मुक्त टुँडिखेल’ गर्ने अभियान गरिनेछ। यसक्रममा मानव साङ्लोनिम्ति स्थानीय सांस्कृतिक खलः, स्पोर्टस् क्लब लगायत विभिन्न संघ–संस्थालाई सरिक भइरहेका छन्।
यो कार्य निरन्तर तीन महिना हरेक शनिबार सो क्षेत्रको महत्व प्रतिबिम्बित गर्दै विभिन्न कार्यक्रम सञ्चालन हुनेछ।
अभियानमा कुनै शनिबार टुँडिखेलसँग सम्बन्धित पुराना तस्बिरहरू प्रदर्शन गरिनेछन् भने कुनै शनिबार चित्रकारलाई निम्ता गरेर आफूले परिकल्पना गरेको खुला टुँडिखेलको पेन्टिङ प्रदर्शन गर्न आह्वान गरिनेछ।
त्यस्तै, कुनै शनिबार कविहरूलाई टुँडिखेल र काठमाडौं सभ्यतामाथि केन्द्रित रहेर कविता वाचन गर्न लगाइनेछ। कहिले नाट्य समूह डाकेर सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध सडक नाटक प्रदर्शन गर्न आग्रह गरिनेछ।
अभियानको उदेश्य टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनु रहेको छ। यस अन्तरगत रानीपोखरीदेखि त्रिपुरेश्वरको दशरथ रंगशालासम्म एकिकृत टुँडिखेल बनाउने उदेश्य अभियानकर्मीहरूले लिएका छन्।