राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश पराजुलीले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा अर्थपूर्ण स्ट्याटस पोस्ट गरे।
सागर ढकालसँग भेट गरेको तस्बिर सार्वजनिक गर्दै उनले रूपन्देही–३ को उपचुनावको सन्दर्भ राखे। र, आफै अनुमान लगाउन भने।
सागर ढकाल तिनै युवा हुन्, जो डडेलधुरामा २०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेर चर्चामा आएका थिए। सभापति देउवाले चुनाव जिते तर उनलाई ढकालले राम्रै हाँक दिएका थिए।
उनै ढकाल अहिले रूपन्देही–३ मा उम्मेदवार बन्ने चर्चा छ। उनले स्वतन्त्र अभियन्ता र रास्वपासमेतको समर्थन खोजिरहेका छन्।
यही छेकोमा उनले रास्वपाका सांसद पराजुलीसँग उनैको निर्वाचन क्षेत्रको सम्पर्क कार्यालयमा भेटवार्ता गरेका थिए।
‘राष्ट्रले खोजेका होनहार इन्जिनियर जो राजनीतिमार्फत आफूलाई अझ सशक्त रूपमा देश र जनताको लागि समर्पित गर्ने प्रयासमा लागेकाहरूसँगको संवाद। अहिलेलाई यहाँहरूले सागर ढकालसँग भएका हाम्रा संवादहरू अनुमान लगाउनुस् है,’ पराजुलीले भनेका छन्।
हामीले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) लाई रूपन्देही–३ मा सागर ढकाललाई उम्मेदवार बनाउने गरी छलफल सुरू गर्नुभएको हो भनेर सोधेका थियौं।
उनले निर्वाचन आयोगले आगामी कात्तिक १७ गते निर्वाचन गर्ने गरी तिथि तोके पनि उपचुनावबारे रास्वपाले छलफल सुरू गरिनसकेको बताए।
उनले निर्वाचनका लागि छलफल गर्न भनेर कसैलाई जिम्मेवारी पनि नतोकेको पनि बताए।
‘पार्टीका नेताहरूले अनौपचारिक कुराकानी गर्न सक्नुहुन्छ। तर उपनिर्वाचनलाई लक्ष्य गरेर हामीले छलफल सुरू गरेका छैनौं। हामी आन्तरिक गृहकार्यमा चाहिँ छौं,’ उनले भने।
उनले केही दिनमा सचिवालय बैठक बसेर यसबारे छलफल गर्ने बताए।
‘सम्भवतः हामी असार २२ गते सचिवालय बैठक बस्छौं। त्यसपछि उपनिर्वाचनबारे विषय प्रवेश होला,’ उनले भने।
उनले रास्वपाले अंगीकार गर्दै आएको प्राइमरी इलेक्सनको विधि यहाँ पनि लागू हुने बताए।
‘हामीले उम्मेदवार चयन गर्न जेजे विधि अपनाउँदै आएका छौं। त्यसको अभ्यास यहाँ पनि हुन्छ। अहिले नै भन्न मिल्ने गरी हामीकहाँ छलफल सुरू भएको छैन,’ उनले भने।
सांसद पराजुली भेटलाई एउटा सम्भावनाको कोणबाट हेर्नुपर्ने बताउँछन्।
‘मेरो निर्वाचन क्षेत्रको कार्यालयमा भेट भएको हो। जिम्मेवार राजनीतिक दलले निर्वाह गर्नुपर्ने भूमिकाको एउटा अंगकै रूपमा यसलाई बुझ्नुपर्ने हुन्छ। यो स्वाभाविक भेटघाट पनि हो,’ उनले भने, ‘आम जनताले खोजेको रूपमा पनि यसलाई हेरिनुपर्छ। त्यसर्थ एउटा सम्भावना यो पनि हुनसक्छ भनेर बुझ्दा हुन्छ।’
तर रास्वपाकै नेताहरू भने पार्टीले ढकाललाई अघि सार्ने कुनै सम्भावना नरहेको बताउँछन्।
‘पार्टीका नेताहरूले कुराकानी त गर्न सक्नुहुन्छ। तर रास्वपाबाट उहाँ उम्मेदवार बन्ने सम्भावन छैन,’ रास्वपाका एक नेताले भने, ‘हामीले सोचविचार गरेर उम्मेदवारी तय गर्छौं। हामी जित्ने रणनीतिमा छौं।’
सांसद पराजुलीको भेटसँग समय मिलाएर ढकालले सामाजिक सञ्जालमा आम मानिसहरूको भावना बुझ्न खोजेका छन्।
उनले रूपन्देही–३ इतिहास रच्न तयार हुनुहुन्छ? भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ध्यान तान्न खोजेका हुन्।
उक्त स्ट्याटसमा उनले चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेले उपचुनावमा ५४ हजार १७६ मत प्राप्त गरेको र काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयर जितेका बालेन शाहले प्राप्त गरेको ६१ हजार ७६७ मतको आँकडा राखेका छन्।
‘अब रूपन्देही– ३ मा करिब ९०,००० मत छन् त्यसमा तपाईं–हामीले ६२ हजार मत पार गर्नुपर्छ र नेपालको इतिहास रच्नुपर्छ,’ उनले भनेका छन्।
सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा (एमाले) मावोवादी एउटै भएको बताउँदै यी पार्टीहरूलाई राणाशाहीको दर्जा दिएका छन्।
‘यिनको राणा शासनको अन्त्य ८४ मा गर्नको लागि सुरूआत यहाँबाट गर्नुपर्छ। जनतालाई झोले र पार्टीका कार्यकर्ताबाहेक केही नसोच्ने यो तीन पार्टीको घेरा बेजोडले तहसनहस हुने गरी तोड्नु पर्छ। यो रुपन्देही–३ को एक तिरले तीन पार्टीहरूलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनु पर्छ,’ उनले आह्वान पनि गरेका छन्।
उनले लाक्षणिक रूपमा आगामी उपचुनाव ‘जनता भर्सेस राणा शासन’ भएको बताएका छन्।
‘यो चुनाव दुई तिहाइ सरकारलाई नारायणगढ बुटवल सडक खण्डमा हामीमाथि गरेको अत्याचार पोख्ने बाटो हो। अदालतलाई नेपाली अदालत बनाउने बाटो हो। कुलमानको बत्ती निभाउने राक्षसहरूको अन्त्य गरेर नेपाली जनताको अनुहारमा आशा र उज्यालो छर्ने दिन हो। जसरी गएको चुनावमा पूरा नया अनुहारहरू स्थापित गरिदिनु भयो अब फेरि पालो आएको छ,’ उनले भनेका छन्।
कुनै समय देउवालाई प्रश्न गरेर चर्चामा आएका ढकाल २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा डडेलधुरामा उनैका प्रतिस्पर्धी बने। २५ हजार ५३४ मत ल्याएर देउवाले चुनाव जिते। दोस्रो बनेका ढकालले १३ हजार ४२ मत प्राप्त गरेका थिए।
अहिले उनी रूपन्देही–३ मा उठ्ने चर्चा छ।
एमालेले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलाई उठाउने तयारी गरेको छ। विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा (एमाले) मुख्य प्रतिस्पर्धी रहेको यो निर्वाचन क्षेत्रमा राप्रपा आफ्नो जीतलाई कायम राख्न चाहन्छ।
राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ गते निधन भएपछि यो क्षेत्र रिक्त रहेको हो। त्यतिबेला बोहरालाई एमालेको साथ थियो। उनले कांग्रेस माओवादी केन्द्रका साझा उम्मेदवार रहेका बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई चुनाव हराएका थिए।
कांग्रेस आफ्नो वर्चश्व फर्काउन चाहन्छ भने एमाले पनि जितको खोजीमै छ। विगतमा एमालेले पनि उक्त क्षेत्र जितेको थियो।
मधेसकेन्द्रित दलहरू साझा उम्मेदवारको खोजीमा छन्। चितवन पश्चिम नागरिक उन्मुक्ति पार्टीको मताधार राम्रो भएकाले आफ्नो पार्टीलाई अरूले सघाउनुपर्ने संरक्षक रेशम चौधरीको भनाइ छ। ६ दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाको गत शुक्रबार र आइतबार बसेकाे बैठकमा यो विषयले प्रवेश पाइसकेको छ। यद्यपि सिके राउत नेतृत्वको जनमत पार्टीले भने यसमा सहमति जनाएको छैन। ऊ पनि छुट्टै उम्मेदवारको खोजीमा छ।
२०७९ को निर्वाचनमा रूपन्देही–३ मा प्रत्यक्षतर्फ रास्वपा तेस्रो भएको थियो। उक्त पार्टीका उम्मेदवार जीतबहादुर गुप्ता तेलीले ५ हजार ७९६ मत ल्याएका थिए।
चौथो नाउपाका तुल्सीप्रसाद थारूले ४ हजार ७५१ र पाँचौं भएका जनमत पार्टीका प्रमोदकुमार गुप्ताले ३ हजार ३१७ मत प्राप्त गरेका थिए।
समानुपातिकतर्फ पहिलो भएको कांग्रेसले २० हजार २७९ मत प्राप्त गरेको थियो। एमालेले १६ हजार ९८६ मत प्राप्त गरेको थियो। रास्वाले १४ हजार १५४, राप्रपाले ९ हजार १८३, नाउपाले ६ हजार १०, जसपाले ५ हजार २९१, लोसपाले ५ हजार ५३, जनमतले ३ हजार ७३२ र माओवादी केन्द्रले २ हजार ६३७ मत ल्याएको थिए।
तीन वर्षअघिको निर्वाचनमा समानुपातिकतर्फ तेस्रो मत प्राप्त गरेको रास्वपाले अहिलेको उपचुनाव आफ्नो पक्षमा पार्ने कसरत गरिरहेको छ।
सभापति लामिछाने भैरहवा कारागारमा रहेको र उनीमाथि राजनीतिक प्रतिशोध साँधिएको निष्कर्ष निकालेकाले यो चुनावी परिणामार्फत दबाब सिर्जना गर्ने उसको ध्याउन्नमा पनि छ। जनमत सर्भेक्षणसमेत गर्ने ध्येयले सभापति लामिछानेको न्यायका लागि भन्दै रास्वपाले अहिले देशव्यापी हस्ताक्षर अभियानसमेत चलाइरहेको छ।
माओवादी केन्द्र पनि सहरी क्षेत्रमा मताधार बलियो देखाउने रणनीतिमा छ।
एकीकृत समाजवादीले घनश्याम भूसाललाई अघि सार्ने सम्भावना छ। भूसालको यो आफ्नो निर्वाचन क्षेत्र हो। उनी यही निर्वाचन क्षेत्रबाट २०५२ को उपचुनाव र २०७४ को आम निर्वाचन जितेका थिए।
यसअघि को निर्वाचनमा एमालेले टिकट नदिएपछि उनी रूष्ट बनेर पार्टी नै परित्याग गरेका थिए। त्यसपछि त्रिभुज चुनाव चिह्न लिएर रूपन्देही–१ बाट उम्मेदवारी दिएका भूसालले २१ हजार ३१८ मत ल्याएर दोस्रो भएका थिए। उनलाई कांग्रेस, माओवादीले समर्थन गरेका थिए।
त्यहाँबाट एमाले सचिव छविलाल विश्वकर्मा २४ हजार ८८२ मत सहित निर्वाचित भएका थिए।
यो क्षेत्रमा कांग्रेसले चार पटक (२०४८, २०५६, २०६४, २०७० मा ) जित हासिल गरेको छ एमालेले उपचुनावसहित तीन पटक (२०५१, २०५२ र २०७४ मा) जितेको छ भने राप्रपाले एक पटक निर्वाचन जितेको छ। संविधान सभा निर्वाचनका बेला क्षेत्र विभाजन हुँदा दीपक बोहराले तत्कालीन रूपन्देही–२ बाट चुनाव जितेका थिए। त्यतिबेला उनले कांग्रेसका रामकृष्ण् ताम्राकारलाई पराजित गरेका थिए।