जग्गा बिक्री गर्ने भन्दै ६८ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी धरान घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ३२ बस्ने ३६ वर्षीय रुसिल कटुवाललाई मंगलबार पक्राउ गरेको हो।
जग्गा बेच्ने भन्दै ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
उनका अनुसार आरोपित रुसिल कुवाल र मोरङका धिरजकुमार दाहालले नुवाकोट तार्केश्वर घर भइ काठमाडौंको सुकेधारा बस्ने उद्धावप्रसाद अधिकारीसँग चिनजान गरेका थिए। मोरङको केराबारीमा दाहालको नाममा रहेको जग्गा बिक्री गर्ने भनी उनीहरूले बैना गरेका थिए।
बैना गरेपछि अधिकारीले उनीहरूलाई ६८ लाख ९० हजार रुपैयाँ बुझाए। तर जग्गा नै पास नगरी उनीहरू सम्पर्कबिहीन भएका थिए।
सम्पर्कबिहीन भएपछि गत असार २० गते मोरङ मालपोत कार्यालयमा गएर हेर्दा उक्त जग्गा अर्कै व्यक्तिको नाममा बिक्री गरेको खुलेको थियो। बिक्री भएको खुलेपछि पीडितले महाशाखामा जाहेरी दिएका थिए।
सोही जाहेरीको आधारमा प्रहरीले रुसिललाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। उनलाई महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंमा पठाइएको छ।
साथै फरार धिरजकुमार दाहालको पनि खोजी भइरहेको महाशाखाले जनाएको छ।