पुस्तक अंश
एसएलसी पास भए पछि के पढ्ने भन्ने भयो।
साइन्स पढ्दा वेश हुन्छ, राम्रो गर्यो भने विदेश जान सकिन्छ भन्ने कुरा आयो। तर मलाई डाक्टर इन्जिनियर पढ्ने सोच थिएन। आइएस्सी पढे पछि केही नभए शिक्षक हुन पाइन्थ्यो।
त्यही वर्ष पोखरा पिएन क्याम्पसमा आइएस्सी सुरू भएको थियो। काठमाडौंमा अमृत, त्रिचन्द्र, पाटन क्याम्पस, शंकरदेव (त्यसवेला मल्टिपल क्याम्पस थियो), आन्दकुटी कलेज (पछि अमृतमा गाभियो) मा साइन्स पढाइन्थ्यो।
त्यसबेला अमृत एक नम्बर, त्रिचन्द्र दुई र आनन्द कुटी तीन नम्बरमा थिए। अरु भर्खर खुलेकाले त्यति मानिँदैनथे। काठमाडौंमा साइन्स पढ्ने भनेर आइयो। अमृतमा भर्ना हुन अंग्रेजीको स्कोर पुगेन, त्रिचन्द्रमा पनि किन हो भर्ना भएन। कसैलाई भनसुन गर्ने विचारै आएन। काठमाडौंमा आफन्त कोही थिएनन्।
आनन्द कुटीको नाम सुनेको थिएँ, त्यहीँ गएँ, बाइलोजी समूहमा भर्ना भएँ।
प्राइभेट कलेज भए पनि धेरै महँगो थिएन। चिनेकाहरू ठमेलतिर बसेकाले उतै बसेँ।
ठमेलबाट हिँडेर जानुपर्ने, पानी पर्दा बाटो हिलैहिलो हुन्थ्यो। त्यहाँबाट अरु कलेजमा ट्रान्सफर हुन्छ भन्ने थाहा पनि भएन। मसँगैका कतिपयले पछि त्रिचन्द्रमा ट्रान्सफर गरेछन्।
डेरामा बस्न भनेजस्तो साथी मिलेन। डेरा पनि सरिरहनुपर्ने। भाडा २० रुपैयाँ जति थियो। बुईँगलमा खाना पकाउने व्यवस्था थियो। पकाउन नभ्याएका बेला क्षेत्रपाटीको थकालीको ‘नौलो होटल’मा खान जान्थेँ। मीठो होटल भनेर प्रसिद्ध थियो।
एक रुपैयाँ २५ पैसा लिन्थ्यो। नयाँ बजार गाउँजस्तै थियो। खेत धेरै थियो। १० पैसामा चिया पाइन्थ्यो। बसमा पाँच पैसामा चढेर यताउता जान्थ्यौँ।
त्यसबेला बालाजु उद्यानमा पसेको तीन पैसा लिन्थ्यो। हामी शनिबार किताब, धुने कपडा झोलामा हालेर त्यहीँ गएर नुहाने, धुने, पढ्ने गर्थ्यौं। बाइसै धारामा पानी आउँथ्यो। उद्यानको गेटमा हलवाइको पसल थियो। घर फर्किने बेलामा जेरी स्वारी खान्थ्यौं, खुब मन पर्थ्यो।
कलेज पढ्न थालेपछि बाँसवारीको छालाको जुत्ता किनेँ, शो रूम रत्नपार्कमा थियो। सानो जीउको मानिस फिट भएन। ठीक नभए पछि बाटामा कपडाको जुत्ता किनेँ। कलेजमा ड्रेस थिएन । क्याम्पसका विद्यार्थी झोला बोक्दैनथे। हातमा किताब बोकेर जान्थे। कलेज छोड्ने, फिल्म हेर्न जानेहरू सानो एउटा कापी पछाडि खल्तीमा राखेर जाने, लाष्ट बेञ्चमा बस्ने गर्थे। म चाहिँ स्कुलमा बोक्ने साधारण खालको झोला छड्के पारेर बोकेर जान्थेँ। ठमेल, पकनाजोलतिरका मानिसहरू मलाई अनौठौ मानेर हेर्थे र हाँस्थे। त्यो देखेर म रमाइलो मानेर हिँडिदिन्थेँ, वास्ता गर्दिनथेँ।
क्लास सुरू भयो, पहिलो दिन त मैले केही नै बुझिनँ। अंग्रेजीमा पढाएको बुझ्ने सुन्ने बानी नै थिएन। बाइलोजी लिएर गाह्रो भएको हो कि भनेर केही दिन म्याथम्याटिक्सतिर गएँ। क्यालकुलेस पढाइ भइरहेको रहेछ, झन बुझिनँ। फेरि बाइलोजीतिरै आएँ। सरले तिमी किन यता उता गर्छौ? एक ठाउँमा बस भन्नु भयो। मैले नबुझेपछि के गर्नु ? भनेँ। विस्तारै बुझ्छौ भने।
डेरानजिकै अमृत कलेज थियो।
विद्यार्थी होस्टलमा बस्थे, लुगा त्यहीँ धोएर सकुाउँथे। खाना खाएर त्यहीँ पढ्न पाउँथे। यो सुविधा देखेर यहाँ बस्न पाए कस्तो हुन्थ्यो होला भनेर थकथक लाग्थ्यो।
परासर नारायण सुवाल केमेष्ट्री पढाउनु हुन्थ्यो, प्रिन्सिपल पनि हुनुहुन्थ्यो। बोटनी पढाउने शारदा मेडम हुनुहुन्थ्यो। राजेन्द्रलाल श्रेष्ठ मलाई एकदम माया गर्ने सर हुनुहुन्थ्यो। प्रायः सुट लगाएर गाडी चढेर आउनुहुन्थ्यो। कार चढेर आउने उहाँ एकजना मात्र हुनुहुन्थ्यो, कोहीकोही मोटरबाइकमा आउँथे। अरु प्रायः साइकलमा आउँथेँ। विद्यार्थीमध्ये मेरो एकजना साथी मात्र बाइक चढेर आउँथ्यो।
त्यसबेला १५।२० पैसाले खाजा खान पुग्थ्यो। केमेष्ट्री र फिजिक्स पढाउने रसियन टिचर पनि थिए।
फर्स्ट टर्मिनलमा नेपालीबाहेक सबै विषयमा फेल भएँ। परासर सर पैदल जानु हुन्थ्यो। बाटोमा प्राय: सँगै हिड्थ्यौं। एकपटक बोलाएर सबै सोध्नु भयो, ‘बुवा के गर्नुहुन्छ?’
‘किसान बुवाले दुःख गरेर पैसा पठाइरहेका छन्, तिमी चाहिँ सबै विषयमा फेल हुन्छौ, यसरी आइएस्सी पढेर कहाँ पार लाग्छ ? आर्टस कमर्सतिर जाउ, साँझ बिहान पढ, जागिर खाउ’ भन्नुभयो।
मैले ‘होइन सर भर्खर पाँच छ महिना पढेको छु, म सुधार गर्छु ’भनेँ।
मैले पढ्दा पढ्दै नसकेको के गर्नु ? भनेँ।
म पढ्नमा कमजोर भए पनि बोल्न, सोध्न चाहिँ धक मान्दिनथेँ ।
घर गइरहन मन लाग्दैनथ्यो। तै लामो बिदामा घर गएँ, आमाले कस्तो छ तेरो पढाइ? भनेर सोध्नु भयो।
नेपालीबाहेक सबैमा फेल भएको भनिदिएँ।
‘पढ्न गएको फेल भएर के गर्ने त?’,उहाँले भन्नु भयो।
अंग्रेजी कमजोर भएकाले फेल भएँ, स्कुल राम्रो थिएन, मैले त पढेकै हो भनेँ।
यसरी फेल भएर त हुँदैन के गर्ने ? भन्नु भयो।
सकुन्जेल पढ्छु नसकेपछि आउँछु भनेँ।
त्यस पछि मैले पनि ट्युसन पढ्नुपर्छ कि भन्ने विचार गरेँ।
कतिवटा पढ्ने ? सबै गाह्रो छ । खासगरी भाषाका कारण समस्या भएको थियो। धेरै विषय पढाउन सक्ने टिचरकहाँ गएँ । ६ जनाको ग्रुप थियो, अधिकांश केटीहरू।
शिक्षकको ध्यानै केटीहरूतर्फ। केटीहरूले सोधेको जवाफ दिने, हाँस्ने, केटाहरूलाई वास्ता नगर्ने। मैले त सोधेको पनि झर्को मान्ने। यो ठीक छैन भनेर छोडिदिएँ।
फेरि साथीहरूसँग सम्पर्क गरेर क्षेत्रपाटीमा गएँ। आठ जनाको ग्रुप थियो। त्यहाँ पनि केटीहरू बढी थिए। समस्या उही देखेँ। केटाहरू पनि केटीहरूसँग सम्बन्ध बढाउने हिसाबले मात्र जाने जस्तो लाग्यो।
शिक्षक पनि पढाउने भन्दा केटीहरूप्रति आकर्षित भएको देखेँ। मन परेन। आफैं मेहेनत गर्न थालेँ।
म ब्रिटिस लाइब्रेरीलगायत न्युरोडको अमेरिकन लाइब्रेरी जान थालेँ। विभिन्न विषयका किताब पढ्थेँ।
त्यसैबेला नेपाली पुस्तकहरू पनि खुब पढेँ।
भोटाहिटीमा पुराना किताब बेच्ने पसल थियो। त्यहीँबाट ल्याउँथेँ।
अरू साथीहरूकहाँ जाँदा पनि मागेर ल्याउँथेँ। बालाजु पार्कमा जाँदा पनि पढ्थेँ। रसियन र भारतीय पुस्तकालय बसन्तपुरमा थिए। त्यहाँ पनि जान्थेँ।
दोस्रो टर्मिनलमा सुधार गरेँ, राम्रै नम्बर ल्याएर पास गरेँ। सेन्टपमा बाइलोजी ग्रुपमा मैले टप गरेँ। धेरै चाहिँ घोकेकै हो। मैले डाक्टर बन्छु भनेर बाइलोजी पढेको थिइनँ। शिक्षकमा सजिलै जागिर पाइन्छ भनेर हो।
बाइलोजी लिदा वन, कृषि आदिमा जागिर सजिलै पाइन्छ भनेर कसैकसैले भनेका थिए।
मलाई फिजिक्स र म्याथ धेरै आउँथ्यो। अरू विषय घोकेर राम्रै आउने भयो तर मौलिक रूपमा अंग्रेजीमा लेख्नुपर्ने विषयमा एकदम कमजोर थिएँ।
पढाइ राम्रो हुन थालेपछि आमालाई खबर गरेँ, खुसी हुनुभयो।
आइएस्सी फाइनल जाँचमा थेउरी राम्रैसँग दिएँ तर प्राक्टिकल छोडिदिएँ, अर्को वर्ष अझ राम्रो गर्छु भन्ने भयो।
यसले गर्दा बाहिर पढ्न जान एक वर्ष ढिला भयो। अर्को वर्ष जाँच दिएँ। फाइनल जाँच केही विषयमा डिस्टिङसन आए पनि केही कमजोर भएकाले दुई नम्बर नपुगेर फर्स्ट डिभिजन आएन। बाइलोजी पढ्नेले प्रथम श्रेणीमा पास गर्नु ठूलो मानिन्थ्यो।
त्यसबेला सेक्सन अफिसरको तलब ३७५ रुपैयाँ थियो। बुवाले एक वर्षमा ३८ सय रुपैयाँ पठाउँदा पनि खर्च पुगेन। केमा बढी खर्च गरेँ त्यो भन्न सकिनँ। जब कि मेरो बसाइ औषत स्तरभन्दा कम नै थियो। सायद पैसा म्यानेज गर्न नै जानिनँ।
शनिबार विद्यार्थीलाई सिनेमाको टिकटमा छुट हुने भएकाले भीड हुन्थ्यो। साथीहरू मिलेर एकजना भात पकाउने, एकजना टिकट काट्न जाने गर्थ्यौं।
रञ्जनामा ‘हाथी मेरा साथी’ पाटनको अशोकमा आरधना, प्यारका मौसम फिल्म हेरियो।
एकपटक भक्तपुर पनि गएको थिएँ। माइक क्वालिटी राम्रो थिएन, हिन्दी पनि राम्रो बुझिदैनथ्यो। खाली अभिनय हेर्थें, त्यही पनि घरिघरि निदाउने। हलमा सबै हाँस्दा ‘ए के भो अँ ?’ भनेर सोध्थेँ, सँगैको साथी झर्को मान्थ्यो।
ठमेलतिरका चिया पसलहरूमा फिल्मका गफ खुब हुन्थे। कोही एक्टिङ गर्दै हिरोका डाइलग बोल्थे।
ठमेल, डिल्लीबजार र कुपण्डोलका गुण्डाहरू नामुद थिए। बेलाबेलामा ग्याङ फाइट गर्थे। ठमेलका बढी खतरनाक मानिन्थे।
त्यसबेला धेरैजसो घरतिर आउनेजाने मानिसमार्फत् खबर आदानप्रदान हुन्थ्यो। चिठी नै सञ्चारको प्रमुख माध्यम थियो। ठमेल वरिपरि स्थानीय वासिन्दाहरूकहाँ पनि मैले कतै टेलिफोन देखेको थिइनँ।
टेलिफोन गर्ने बारेमा कुरै हुँदैनथ्यो, कल्पनै गरिँदैनथ्यो। २०३८ सालमा रुसबाट पढेर आउँदा पनि फोन सहज थिएन।
कक्षाका साथीहरूमा दिक्पाल वैद्य हाल क्यानडामा छन् मौरी विशेषज्ञ भएका थिए।
लामो समय काम गरेर पिएचडी गर्न क्यानडा गएका उतै बसे। सुल्दिन शेर्पा दुर्गमको कोटाबाट आँखाको डाक्टर भएका थिए, विदेशतिरै बसे। चिरिका शोभा यमी (हिसिलाकी दिदी) अध्यापन पेशामा लागेकी छन्। पिकेको क्याम्पस चिफ पनि भइन्। सुशील शमसेर राणा गृहसचिवबाट रिटायर्ड भए।
गीताभक्त जोशी त्रिविमा रजिष्ट्रार भएको र सेवानिवृत्त भएर योजना आयोगमा गएका थिए। ज्ञान बहादुर राई मिल्ने साथी थिए। राइजिङ नेपालमा सम्पादक थिए, पछि बेलायत गए।
त्रिलोकपति थापा पनि मिल्ने साथी थिए। तत्कालीन आइजिपी रोमबहादुर थापाका छोरा हुन्। त्रिवि चिकित्साशास्त्र महाराजगञ्जमा प्रोफेसर भएर रिटायर्ड भए।
त्यसबेला कलेजका साथीहरू अटो लेख, फोटो दे भन्थे तर मलाई मन लाग्दैनथ्यो। मैले राखिनँ।
बितेको जीवनको के अर्थ हुन्छ र भोलि भने जस्तो लाग्थ्यो।
अहिले कलेजका धेरै साथीलाई सम्झन नसक्दा पछुतो लाग्छ।
आइएस्सी पढेपछि मैले के अनुभव गरेँ भनेँ, मेहेनत गरेर मात्र हुँदैन, अवसर पनि पाउनु पर्छ। अवसर पाउनका लागि पावरको निकै ठूलो भूमिका रहेछ।
हरेक क्षेत्रमा सोर्सफोर्स लगाउनु पर्ने रहेछ, तर मेरो कतै कोही देखिनँ। कसैको मन्त्रीसँग, कसैको दरबारसँग, कसैको सचिवसँग सम्पर्क भएको देख्थेँ, तर मेरो सम्पर्क नै थिएन। आफू कमजोर जस्तो अनुभव भयो। प्रतिस्पर्धामा आउनुपर्छ भन्ने त थियो तर पावर नभइ नहुने भएकाले भित्रभित्रै कुण्ठा पनि थियो।
सम्पर्क बढाउन कोशिस गरेँ।
पर्वतमा पढाएका गुरूमार्फत् सरदार हंसमानसँग सम्पर्क गरेँ।
मैले ‘सरदार साहेव छात्रवृत्ति छनोटमा गोलमाल हुँदो रहेछ, मैले पाउने अवसर पनि गुम्ला भन्ने डर लागेको छ, हजुरले सहयोग गरिदिनु पर्यो’ भनेँ।
उनी मुसुमुसु हाँसे।
चाकडीको हजार स्वाद चाखेका उनलाई म फुच्चेले गरेको अनुरोध मनोरञ्जनको विषय मात्र भयो।
म रुस पढ्न गएपछि यता धेरैले हंसमानले पठाएर रुस पढ्न गयो भनेर उल्टै मेरो अवमूल्यन गरेछन्।