बाहिरबाट घर पुगेपछि
जब ढोकाको घण्टी बजाउँछ
अनि झल्याँस्स सम्झिन्छ
ऊ एक्लै भएको
बिचरा एक्लो मान्छे
दुखी हुँदै आफै साँचो झिकी
घुमाउन थाल्छ ढोका खोल्न
घरभित्र ऊ एक्लै
ऊ बोलाउँछ उसलाई नै
अह्राउँछ आफैलाई
यसो गर उसो गर भन्छ
आफ्नो आफन्तको
फोटोहरू हेर्छ
एक्लै रुन्छ
एक्लै हाँस्छ
धेरै बेरसम्म टोलाउँछ
एक्लै टिभी अन गर्छ
एक्लै सेलफोन चलाउँछ
एक्लै पकाउँछ
एक्लै खान्छ
आफैले आफैलाई थाक्यौ भन्छ
थाकेर एक्लै थचक्क बस्छ
ऊ एउटा
एक्लो मान्छे
एक्लै एक्लै बसेर
खोलिरहन्छ सम्झनाका पोकाहरू
त्यसै अनायासै
भिडभाडदेखि टाढा
फुकिरहन्छ सुस्केराले
उडिरहन्छ कल्पनाका फोकाहरू
ऊ एउटा
एक्लो मान्छे।