सायद सरकारी जागिर धेरैजसो नेपालीको जीवनमा एक न एक पटक सपना बनेर आउँछ। कसैले दिनरात एक बनाउँछन्, कडा परिश्रम गर्छन्, प्रतिबद्ध हुन्छन् र सपना साकार पार्छन् त कसैले सपना मात्रै देख्छन् तर पूरा गर्ने अठोट लिन सक्दैनन् र सपना सपनामै सीमित हुन जान्छ।
कोही यस्ता पनि हुन्छन् जसले माथिका सबै कुरा पूरा गर्छन् यानिकि दिनरात एक बनाउँछन्, कडा परिश्रम गर्छन्, प्रतिबद्ध हुन्छन् तर पनि भाग्यले साथ दिँदैन या भनौँ सबै तालमेल मिल्दैन र आफूलाई सरकारी जागिरेको उपमा दिन असमर्थ हुन्छन्।
मेरो पनि सरकारी जागिरे बन्ने सपना थियो। केही वर्ष निजी क्षेत्रमा जागिर गर्दै तयारी पनि गरेँ। तर पर्याप्त समय दिन सकिएन कि लगाव, धैर्यता, मिहिनेत पुगेन कि के भयो, जे भए पनि सरकारी जागिरमा नाम निकाल्न सकिएन। सरकारी जागिरे बन्ने सपना पूरा गर्न सकिएन।
निजामती क्षेत्रमा प्रवेश गर्न नसके पनि विभिन्न कामको सिलसिलामा सरकारी कार्यालयमा गइरहनु पर्छ। अनि त्यहाँका कर्मचारीको काम गर्ने शैली, ढिलासुस्ती, सेवाग्राहीप्रतिको व्यवहार र सम्पूर्ण सिस्टम देखेपछि सोच्छु, म पनि त सरकारी जागिरे बन्ने अठोट लिएर हिँडेको थिएँ कुनै दिन! कल्पना गर्छु, यदि म सरकारी जागिरे भएको भए के म पनि यस्तै गर्थेँ होला त?
यदि म सरकारी जागिरे भएको भए सर्वप्रथम त मैले आफूलाई राष्ट्र सेवक र पब्लिक सर्भेन्टकोका रूपमा स्विकार्थेँ होला, जनताको काम गर्न र जनतालाई सुविधा दिन भनेर आएपछि जनता केन्द्रित भएर काम गर्ने पहल गर्थे होला। मकहाँ आउने सेवाग्राहीसँग झर्कोफर्को नगरी मुस्कानसहित मिठो बोलीले अन्तरक्रिया गर्थेँ होला।
काम मिल्नेसम्म यति नम्बर जानुस् उति नम्बर जानुस् नभनीकनै उहाँहरूको काम सजिलै गरिदिएर पठाउँथेँ होला। प्रक्रिया मिलेको र हुने काम छ भने म भोलि भोलि भनेर सेवाग्राहीलाई दुःख दिँदैन थिएँ होला। सेवा लिन मकहाँ आइसकेपछि धनी, गरिब, पिछडिएका समुदाय लगायत जो सुकै भए पनि समान व्यवहार गरी सेवा प्रदान गर्थेँ होला।
साँच्चै म त सरकारको प्रतिनिधि पो हुँ त! पछिल्लो समय सरकार र सरकारी कार्यालयप्रति जनताको बढ्दो वितृष्णा कम गर्न मेरो कार्यालय र मेरो कक्षमा सेवा लिन आउने हरेक नागरिकलाई कुनै सरकारी कार्यालय र निजामती कर्मचारीहरू त साँच्चिकै असल छन् है भन्ने पार्ने गरी काम गर्थेँ होला।
सरकारी कार्यालयको त काम गर्ने सिस्टम नै खराब छ, जो सुकै आए पनि परिवर्तन गर्न सक्दैन भन्ने भाष्यलाई एक जनाको पहलले पनि सिस्टममा केही परिवर्तन आउन सक्छ है भन्ने उदाहरण दिने प्रयास गर्थेँ होला।
मैले जागिर खाएपछि मलाई सरकारले नियमपूर्वक सेवा सुविधा दिएकै छ, आफ्नो मर्यादामा रहेर कुनै पनि अमर्यादित काममा संलग्न नभई निष्ठापूर्वक काम गर्थेँ होला र आफ्ना छोराछोरीलाई पनि मैले राष्ट्रसेवक भई देशको सेवा गरेको हुँ भन्न कुनै सङ्कोच नहुने, पद तथा सार्वजनिक स्रोतको दुरुपयोग नगरी सेवा निवृत्त हुन्थेँ होला।
सहीलाई सही र गलतलाई गलत भन्न म कत्ति पनि हिचकिचाउँदिन थिएँ होला। आफ्नो पदोन्नति गर्नको लागि कसैको चाकडीबाज गर्नुको साटो आफूमा आवश्यक पर्ने सिप र क्षमताको विकास गर्थेँ होला।
हामी दिनहुँ जसो भ्रष्ट्राचार सम्बन्धी समाचारहरू सुनिरहेका हुन्छौँ, स-सानादेखि ठुला-ठुला सम्मका भ्रष्ट्राचार आफू पनि गर्दिन थिएँ र अरू कसैले गरे भने पनि त्यस विरुद्ध खुलेर आवाज उठाउँथेँ होला।
निजामती क्षेत्रमा प्रवेश गर्न कति धेरै मिहिनेत गर्नुपर्दछ, त्यस्तै र अझ त्योभन्दा बढी मिहिनेत म जनतालाई सेवा दिनको लागि गर्थेँ होला।
एक पटक सरकारी सेवामा नाम निकालेपछि मलाई कसैले हटाउन सक्दैन, मैले त जे गरे पनि हुन्छ भन्ने अहम् भावना बोक्नुको सट्टा आफ्नै कार्यसम्पादनमा दक्षता ल्याउने, नयाँ प्रविधिसँग अभ्यस्त हुने कुराहरूमा जोड दिन्थेँ होला।
सरकारले विद्युतीय शासन र सुशासनको नारा लगाउँदै आएको छ, ती नारालाई सार्थक तुल्याउन म आफ्नो क्षेत्रबाट भरपुर प्रयत्न गर्थेँ होला। निजामती कर्मचारी सँगसँगै म एउटा आम नागरिक पनि हुँ, त्यसैले म आफ्ना अधिकारको प्रयोग गर्दै गर्दा जनताका अधिकारहरू हनन गर्न नुहुने कुरामा पनि सचेत हुन्थेँ होला।
साथै कुनै राजनीतिक पार्टीको झोले भएर आफ्नो काम, कर्तव्य बिर्सेर हिँड्नुको साटो आफ्नो क्षेत्रको काममा दक्खल हासिल गर्थेँ होला।
उत्कृष्टबाट पनि सर्वोत्कृष्ट छानिने निजामती कर्मचारी र कर्मचारीतन्त्रलाई देशको स्थायी सरकार मानिन्छ। जनतासँग प्रत्यक्ष जोडिने कर्मचारीहरूको सकारात्मकताले नागरिकमा देशमा केही राम्रो पनि हुँदै छ है भन्ने सन्देश दिन सक्छ जुन अहिले देशमा केही पनि हुँदैन, देश बरबाद भइसक्यो भन्ने मानसिकताले जकडेको अवस्थामा एउटा अमूल्य बुटी सिद्ध हुन सक्छ।
हुन त आफूले सरकारी जागिर खान नसकेको रिस हामीसँग पोख्छ भन्ने पनि लागेको हुन सक्छ। एउटा देशको नागरिक, तपाईंहरूजस्तै ऊर्जाशील युवा र देशको शुभचिन्तक भएको नाताले यी कुराहरू लेख्ने दुष्प्रयास गरेको छु।
तपाईंको ठाउँबाट तपाईंले र मेरो ठाउँमा मैले आ-आफ्नो काम जिम्मेवारीपूर्वक तरिकाले गर्यौँ भने कायापलट नै नभए पनि चरम निराशाले थिचिएका मनहरूमा आशाको दियो जलाउन सकिन्थ्यो कि!