बिरामी मान्छे, बिरामी शरीर
बिरामी मन, बिरामी मस्तिष्क
बिरामीको परिवार बिरामी
उसको काम पनि बिरामी
कोही बिरामी हुँदा आफ्नो मन दुख्छ
अनि लाग्छ कि
आफू बिरामी हुँदा
उनीहरू पनि मसँगै दुख्छन्
असलमा यसो नहुने रहेछ
किनकि
मान्छे मात्र बिरामी नभई
उसको समय पनि बिरामी हुने रहेछ
एक थरीले
आज खासै काम थिएन र भेट्न आएको
अहो! कस्तो दुब्लाएको
घरकाले एक फेर पुग्नु भनेर आएको
खासै ठिक होला जस्तो लागेन मलाई
सुन्दै नमिठो, कस्तो नरमाइलो
सुनेर पनि नसुने झैँ गर्नुपर्ने
बुझेर पनि नबुझे झैँ गर्नुपर्ने
जोडेर पनि नजोडिए जस्तो
अनि अर्को थरीको
मनसँग बोल्छ मन, बोलीसँग बोली
नजोडिएर पनि जोडिए जस्तो
नदेखाएर पनि देखाए जस्तो
जस्तो कि
अँध्यारो सुतेको कोठालाई
आशा र भरोसा जगाएर
रात अनि दिनलाई जोड्दै जाने
घामको बिहानी किरणजस्तो
यस्तो समयमा
बेचैन रात
ननिदाएका आँखा लिएर
जब तिमी तिम्रो मस्तिष्कको तुफान झेल्दा
रतिभर काँपेनौ
त्यति बेला तिमीलाई लाग्छ कि
बिरामी हुँदा दिमाग धेरै चल्ने रहेछ
मन मालिक अनि मस्तिष्क हाकिम हुने रहेछ
त्यति बेला थाहा हुन्छ कि
यहाँ हरेकले हरेकलाई जोड्दो रहेछ
मनले मनलाई
मस्तिष्कले मस्तिष्कलाई
रातले दिन अनि दिनले रातलाई
अँध्यारोले उज्यालोलाई
एक थरीले अर्को थरीलाई
भन्छन् नि
खुसी बाँडे दोब्बर, दुःख बाँडे आधा
यो भनाइ मात्र रहेछ
बाँड्न मिल्ने भनेको त खुसी मात्र रहेछ
त्यसैले
तिमी त्यस्तो सम्बन्ध नबनाऊ
जुन देखिएर पनि नदेखिए जस्तो
जोडिएर पनि नजोडिए जस्तो होस्
सम्बन्ध त्यस्तो बनाऊ
जति बेला कसैले तिम्रो हात तान्न खोज्छ
त्यति बेला तिमीलाई मन थाम्न मुस्किल परोस्
अनि आभास होस् कि
एक्लै हिँडे चाँडो त पुगिएला
सँगै हिँडे टाढा पुगिन्छ।