दसैंको अवसर पारेर दुई नेपाली फिल्म एकसाथ रिलिज भएका छन्।
फिल्म '१२ गाउँ २' र 'आबाट आमा २' शुक्रबार एकै दिनदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएका हुन्।
विराज भट्ट निर्देशित '१२ गाउँ २' र चन्द्र पन्तको 'आबाट आमा २' दुवै फिल्म अघिल्लो भागको सफलताको विरासत बोकेर दर्शकमाझ आएका हुन्।
यी फिल्मको जनरा भने फरक छ। '१२ गाउँ २' एक्सनप्रधान फिल्म हो भने 'आबाट आमा २' पारिवारिक तथा भावनात्मक कथामा आधारित छ।
दुवै फिल्मले चलचित्र जाँच समितिबाट पीजि सर्टिफिकेट पाएका छन्। अर्थात्, दुवै फिल्म १६ वर्षमुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्नेछ।
'१२ गाउँ २'मा विराजसँगै उनका छोरा समीर भट्ट मुख्य भूमिकामा छन्। अनुपविक्रम शाही, खुसी कार्की, कृशु शाही, वर्षा इटानीलगायतका कलाकारको पनि अभिनय छ।
त्यस्तै, ‘आबाट आमा २’मा पल शाह, विपना थापा, मलिका महत, प्रदीप रावत, आकाश श्रेष्ठ, रिस्ता गुरूङलगायतका कलाकारको अभिनय छ।
दुई वर्षअघि दसैंमा प्रदर्शनमा आएको '१२ गाउँ'ले बक्स अफिसमा झन्डै २० करोड रूपैयाँको व्यापार गरेको थियो। त्यस्तै, गत वर्ष प्रदर्शनमा आएको 'आबाट आमा'ले १३ करोड रूपैयाँभन्दा बढी कमाइ गरेको थियो।
भोलि थपिँदै 'छ माया छपक्कै २'
शनिबारदेखि अर्को प्रतीक्षित मानिएको फिल्म 'छ माया छपक्कै २' पनि हलमा थपिँदैछ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको यस फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा, रिहान गिरीलगायतका कलाकारको अभिनय छ।
कमेडी तथा पारिवारिक कथावस्तुमा आधारित यो फिल्म पनि अघिल्लो सफल फिल्मको दोस्रो शृंखला हो।
यी तीनै फिल्मलाई अघिल्लो भागको सफलताको साथ छ। तर, पुरानो सफलताले मात्रै नयाँ फिल्मको व्यापार सुनिश्चित गर्दैन।
दसैंको बक्स अफिसमा अब कुन फिल्म अगाडि आउला भन्ने कुरा कथावस्तु, प्रस्तुति र दर्शकको 'वर्ड अफ माउथ'मा भर पर्ने देखिन्छ।